लगातार खेल्नेगरी तालिका सार्वजनिक गरेको भन्दै माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा आयोजकले सार्वजनिक गरेको नयाँ खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाले असन्तुष्टि जनाएका छन्। माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले आफूहरुलाई मर्का पर्ने गरी खेल तालिका बनाएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनीहरुले आफूहरुले लगातार खेल्नेगरी आयोजकले तालिका सार्वजनीक गर्दा खेल्न गाह्रो हुने बताए।

शुरुमा एन्फाले ६ टिमलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गरेको थियो। तर भारतले नआउने जानकारी गराएपछि ५ टिमलाई राउण्ड रोविन लिग अनुसार खेलाउन नयाँ खेलतालिका सार्वजनिक गरिएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ। यस्तै नेपालले डिसेम्बर ४ मा श्रीलंका, डिसेम्बर ६ मा माल्दिभ्स र डिसेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ। फाइनल सागको समापन दिन मंसिर २४ गते हुनेछ।

सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ। त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रुपमा टोलीमा समेटेको छ। सुजलले टोलीको कप्तानी गर्नेछन्।

महिला फुटबल भने पोखरामा हुनेछ। महिला फुटबलमा पनि ५ टोलीबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: : 2019-12-01 14:57:26

प्रतिकृया दिनुहोस्