मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादी असहमत, सरकारसँग वार्ता गर्न कार्यदल

तस्बिरः बिएल

सत्तारूढ दल समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आफ्नो गम्भीर असहमति जनाएको छ।

शनिबार अबेर रातिसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै सल्लाह नगरी गरिएको मन्त्रिपरिषद पुनर्गठन प्रति  आफ्नो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरेको छ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

आज बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णयहरू

१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।

३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।

प्रकाशित मिति: : 2019-11-23 22:25:51

प्रतिकृया दिनुहोस्