मलाई नयाँ खेलाडीहरु चाहिदैन: मोरिन्हो

Photo Credit : GETTY IMAGES

टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन्।

मुख्य प्रशिक्षक नियुक्त भएपछि क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन्।

मोरिन्हो क्लब आएसँगै जनवरीको विन्डो ट्रान्सफरमा टोटेनहमले नयाँ खेलाडी अनुबन्ध गर्ने आँकलन गरिएको थियो। तर, मोरिन्होले नयाँ खेलाडी अनुबन्ध नगर्ने बताए।

'सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन्। मलाई नयाँ खेलाडीहरु चाहिदैन। म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु,' मोरिन्होले भने।

मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन्।

माउरिन्होले सम्हाल्न लागेको प्रिमियर लिगको यो तेस्रो क्लब हो। दुई पटकसम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर युनाइटेडलाई साढे २ वर्ष सम्हालेको थिए।

 

प्रकाशित मिति: : 2019-11-22 07:48:56

प्रतिकृया दिनुहोस्