मुख्यमन्त्रीले कखरा सिकेको विद्यालय भवन बनाउन आइएनजिओसँग हारगुहार !

बिएल

७ बर्षिय बालक कन्हाई कुमार कालो पाटिमा चकको सहायताले कखरा लेख्न सिक्दा उनी दङ्ग छन्। चहकिलो रङ्गले पोतिएको विद्यालयको नयाँ भवन र पहिलो पटक नयाँ डेस्क बेन्चमा बसेर पढ्न पाउदाँ कक्षा २ मा अध्यनरत कुमारले चकको घुलोसँगै आफ्नो भविष्य देख्न थालिसेका छन्। कुमार मात्रै होइन उनीसँगै पर्साको जगरनाथपुर गाउँपालिका २ लक्ष्मीपुर टोलमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यनरत १३० जना बालबालिकाहरुले डेस्क बेन्चसहितको सुविद्या सम्पन्न भवन पाएपछि उदास अनुहार अहिले हसिलोमा परिणत भएको छ।

यी कलिला बालबालीकाको अनुहारमा मुस्कान छर्ने काम गरेको छ नेपाल ग्रामिण पुर्ननिर्माण संस्था आरआरएनले। आरआरएनले सामुदायीक कार्यक्रम अन्तर्गत ३५ लाख ३२ हजार ६ सय रुपैयाँको लागतमा सुविधा सम्पन्न भवनको बनाएको छ। भवन मात्रै होइन उनीहरुले पढ्न चाहाने सबै बालबालिकाले पढुन भनेर २४ सेट फर्निचर पनि निर्माण गरिदिएको छ।

पर्साको ग्रामिण भेगमा अवस्थित जगरनाथपुर गाउँपालिका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गाउँ हो। विगतका दिनमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका मुख्यमन्त्री राउतको आफ्नै जन्मेको गाउँमा शिक्षाको अवस्था खस्किंदै जाँदा आफैले कखरा सिकेको विद्यालयको भवनमा आँखा समेत लगाएनन्। एक त जिर्ण भवन त्यसमाथि भविष्य बनाउदै गरेका कलिला बालबालिका पढ्ने भवनमा मन्त्रीको मात्रै होइन स्थिानीय तहको पनि ध्यान जान सकेन।

नेराप्रावि लक्ष्मीपुर विद्यालयको भवन गत वर्षको बर्षायामको पानी र हावाहुरीले भत्किएर जिर्ण अवस्थामा थियो। कक्षा कोठाहरुमा झ्याल र ढोकासमेत नभएको ४ कोठे सो विद्यालयको दक्षिण पट्टिको पर्खाल भत्केपछि त्यहाँ अध्यनरत बालबालिका डरत्रास मै पढ्न बाध्य थिए।

लक्ष्मीपुर टोलका ७० वर्षिय बाबुलाल राम पहिलेको अवस्था सम्झदै भन्दछन्–“ विद्यालय भत्केपछि बालबालिका थिचेर मर्ने डर थियो तर अहिले नयाँ भवन पाएपछि अब बालबालीकाको पढाई प्रति ढुक्क भयौ।

कक्षा १ देखी ५ सम्म पढाईहुने सो विद्यालयमा डेस्क र बेन्चकोसमेत अभाव हुँदा बालबालिकाहरु आ–आफ्नो घरबाटै बोरा लिएर पढ्न आउथे। भवन भत्किएपछि शिशुदेखी कक्षा ५ सम्मका बालबालिका एकै कोठामा पढ्नु पर्ने अवस्था थियो। तर अहिले सिडिपिले बनाई दिएको भवन पाएर शिक्षक बालबालिका लगायत गाउँवासी नै खुशी भएका छन्।

विद्यालयका प्रध्यानाध्यापक उन्नतिलाल प्रसाद कुर्मी भन्छन्–“विद्यालयको ४ कोठे भवन हेर्नका लागी मात्र थियो तर बस्ने अवस्था नभएर बालबालिकालाई चौर मै बसाएर पढाउन बाध्य थियौ ।” गाउँपालिका प्रमुखलाई जानकारी गराउदा पनि मौन बसेको उनको भनाई छ।

प्रध्यानाध्यापक कुर्मीले भने आ.व.६६/६७ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट २ कोठे भवन बनाउनका लागि ५ लाख रकम निकासा भएको थियो तर तत्कालिन निर्माण समितिका अध्यक्ष र शिक्षा कार्यालयको लापरवाहिले गर्दा भवन बन्न सकेको थिएन् । यता ०७१ सालदेखी विद्यालयको भौतिक अवस्था भत्केर जिर्ण भएको उनले बताए। बर्षात्को मौषममा विद्यालय बन्द गर्ने र जाडोको समयमा बालबालिकालाई भुईमै पढाउने बाध्यता भएपनि कसैको ध्यान पुग्न सकेको थिएन्।

अहिले नयाँ भवन बनाएसँगै विद्यालयमा चाप बढेको र सिकाई प्रति बालबालिकाको आकर्षण बढेको प्रध्यानाध्यापक कुर्मी बताउछन्।


नेपाल तथा बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था आरआरएनले सामुदायीक बिकाश कार्यक्रम अन्तर्गत पर्साको जगरनाथपुर र जिराभवानीपुर गाउँपालिकामा भौतिक पूर्वाधार तर्फ २ करोड ५० लाखको लागानीमा ९ वटा योजनाहरु अगाडी बढाएको संस्थाका जिल्ला संयोजक दिपक बोहराले बताए।

हुलाकी सडकमा परेको विद्यालयको भवन निर्माण

हुलाकि सडक खण्ड अन्तर्गत परेको नेराप्रावी भवानीपुर महादेव पट्टि विद्यालयको एक कोठा भत्किने भएपछि सो विद्यालयको सिकाई नै प्रभावित हुने डर थियो। यस्तो अवस्थामा कि त विद्यालय नै बन्द गर्नुपर्ने कि त नयाँ भवनको जोडजाम गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।

अहिले २ कोठे नयाँ भवन बनेपछि बालबालीकालाई पढाउन सजिलो भएको प्रध्यानाध्यापक याङ्ग बहादुर श्रेष्ठले बताए। २ वटा कक्षाको बालबालिका पढाई पहिले एकै ठाउँमा हुदाँ सिकाई नै प्रभावित हुने अवस्था थियो। अब छुट्टै राखेर पढाउन पाउँदा सहज भएको शिक्षिका लालमति देवी थरुनीको भनाई छ।

बर्थिङ्ग सेन्टरको निमार्ण

जगरनाथपुर गाउँपालिकामा सुविधा समपन्न बर्थिङ्ग सेन्टर नहुँदा त्यहा सुत्केरी महिलाहरुलाई प्रसुति गराउन गाउँवासी पोखरीया हस्पिटिल अथवा सदरमुकाम वीरगञ्ज ल्याउनु पर्ने बाध्यता रहेको थियो। बर्थिङ्ग सेन्टर नहुदाँ गाउँमा एक सुत्केरी मृत्यु समेत भएको र अनेकन दुर्घटना भईरहेको सो गाउँका सत्यदेव प्रसाद यादवले बताए। नजिकमा एक उप–स्वास्थ्य चौकी रहेतापनि त्यसको अवस्था दयनीय रहेको र शौचालय समेत नभएको स्थानीय बताउछन्।

उक्त समस्यालाई बुझेर गाउँपालिकाको जग्गामा विजबनिया ३ मा ३ कोठे भुकम्प प्रतिरोधात्मक बर्थिङ्ग सेन्टर ३४ लाख ११ हजार १ सय ८३ रुपैयाँको लागतमा बर्थिङ्ग सेन्टरको निमार्ण भईरहेको जिल्ला संयोजक बोहराले बताए।

वडा कार्यालयको भवन निर्माण

जिराभवानी गाउँपालीकाका वडा नं.३ को जितपुर टोलमा रहेको वडा कार्यालयको भवनका पर्खाल चर्केको र साघुरो भईरहेको बेला आरआरएनले ९१ लाख ७६ हजार ७ सय ६३ रुपैयाको लागतमा ६ कोठे भुकम्प प्रतिरोधात्मक भवन तथा फर्निचरको सामाग्री सहयोग गरेको छ।

भौतिक पूर्वाधार योजना अन्तर्गत नै आरआरएनले जगरनाथपुर ४ मा पैनी कल्भर्ट, जिराभवानी ३ र २ मा पुर्सवा कजवे, जगरनाथपुर ५ र जिराभवानी ४ र ५ मा खानेपानी योजना निमार्ण भएको प्रमुख बोहराले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-20 14:18:26

प्रतिकृया दिनुहोस्