पूजा बोहरा सामूहिक बलात्कार मुद्दा : उल्टियो फैसला, अभियुक्त दोषी ठहर

फाइल तस्बिर

सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज अभियुक्तलाई दोषी ठहर गरेको हो। नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ। सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ।

विसं २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय सागर भट्ट र अमर अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५० हजार जरिवानाको फैसला सुनाएको थियो।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो। तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ।

पुनरावेदनको फैसला विरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरेका थिए। एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेको बेला गणित विषयको गेश पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय भट्ट र बैतडी गुजर २ को चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अवस्थीले सामूहिक बलात्कार गरेका थिए।

प्रकाशित मिति: : 2019-11-18 21:29:17

प्रतिकृया दिनुहोस्