प्रधानमन्त्रीकाे प्रश्न: कर तिर्दा कमभन्दा कम मूल्य राख्ने अनि आयोजनाहरुमा बढी रकम खोज्ने ?

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन्। आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन्।

सोमबार माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकासका लागि अनुकुल वातावरण नबन्ने र विदेशी कम्पनीहरु समेत निरिह हुने गरेको बताए।

उनले भने, ‘त्यसैले अनुचित लाभ लिनुपर्छ भन्ने प्रवत्ति छोड्न सबैलाई आग्रह गर्छु।’

जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशुली–थ्री ए समेत ९० बाट ६० मेगावाटमा झार्नु परेको र समयमा सम्पन्न गर्न नसकिएको उनले बताए।

‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना ९० मेघावाटको बन्न सक्थ्यो, प्रधानमन्त्री ओलीले भने, ‘तर जग्गाको मुआब्जा जस्ता अनावश्यक विवादका कारण यो आयोजना विलम्ब मात्रै हुन नगई यसको लागत पनि बढन गयो, ६० मेघावाट विद्युत उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पु¥याउँछ।’

त्यस अवसरमा उनले अन्य जलविद्युत आयोजनाहरु पनि यस्तै प्रवृत्तिका कारण अघि बढन नसकेको उल्लेख गर्दै विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन पनि सम्बन्धित सबैलाई आह्वान गरे।

विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले राज्यले देश र जनताको समृद्धिको निम्ति काम गर्ने हुनाले त्यसमा अनुचित माग र दवावको आवश्यक्ता नहुने पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाँक्षालाई साकार पार्न माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाले पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे  । ‘आजबाट ६० मेघावाट विद्युत थप हुनुले सिंगो देश नै खुसी भएको छ, प्रधानमन्त्री ओलीले थपे, ‘यसले मुलुकमा रहेको गरिबी हटाउन, रोजगारीको अवसर सृजना गरी उत्पादन वृद्धि गर्न र सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाँक्षालाई सफल बनाउन महत्वपूर्ण योगदान दिनेछ ।’

 

प्रकाशित मिति: : 2019-11-18 12:57:10

प्रतिकृया दिनुहोस्