शेर्पालाई हिमालको छोरा पनि भनिन्छ। हिमालको काखमा जन्मिएर हुर्किएको ऊ हिमाल वरिपरि नै बस्न रुचाउँछ।
हिमालको काखमा जन्मिएर हुर्किएको उसलाई शेर्पा लागि कृतिम मानव निर्मित सुन्दरता क्षणिक लाग्नु स्वभाविक नै हो।
धेरै मानिसलाई विश्वका विशाल भवन, ठुला-ठुला सडक सुन्दर लाग्न सक्छन्। तर, शेर्पालाई ती मानव निर्मित सुन्दरता क्षणिक लाग्छन्, उसलाई सधैंका लागि मन लोभ्याउँने भनेको हिमाली हावापानी र प्रकृति नै हो।
ओखलढुङ्गाको ग्रामीण भेगको एक सामान्य परिवारमा जन्मेका लाक्पा शेर्पालाई पनि यसमा अछुतो छैनन्। उनलाई अरू त अरू भैहाले, अमेरिकाले समेत कहिल्यै आकर्षण गर्न सकेन।त्यसको प्रमुख कारण पनि उनलाई मन परेको नेपालको प्राकृतिक सुन्दरता, हिमाली हावापानी र अथाह सम्भावना नै हो।
लाक्पा पहिलोपटक सन् २००३ मा अमेरिकामा क्लाइमिङ ट्रेनिङ गर्न गएका थिए।२७ बर्षको एक अविवाहित ठिटो थिए उनी त्यतिबेला।धेरैले उनी अमेरिकामै बस्ने अनुमान लगाए थिए।तर, उनले त्यो अनुमानलाई नै गलत सावित गरिदिए। ट्रेनिङ सकेर फर्किहाले। त्यसपछि पनि उनले चारपटक अमेरिका भ्रमण गरिसकेका छन्।तर, हरेक पटक उनलाई अमेरिकाको सुविधाले भन्दा नेपालको सुखले नै तानिरहेको छ।
त्यसयता १६ वर्ष बितिसके, उनी नेपालमै छन्।आर्थिक रुपमा ठुलो फड्को मार्न नसकेपनि नेपालमा कमाएको नामले आफूलाई आत्मसन्तुष्टि मिलेको शेर्पा बताउँछन्।उनी नेपाल पर्वतारोहण प्रशिक्षण संघका अध्यक्ष समेत हुन्। यसबीचमा उनका जोर पैतालाले पनि ६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा नापिसके।
आजको लाक्पाको परिचय एक अन्तर्राष्ट्रिय माउण्टेन गाइडको छ। उनले फ्रान्स, हल्याण्ड, स्विट्वरल्याण्ड, जापान, इरान, थाइल्याण्डलगायत एक दर्जन देशमा अन्तराष्ट्रिय माउण्टेन गाइडको रुपमा सहभागी भैसकेका छन्। ग्रामीणस्तरको पर्वतारोहणसम्बन्धी तालिममा पनि उनी सक्रिय छन् ।
अहिले सगरमाथालाई संसारको जुनसुकै कुनाबाट ३६० डिग्रीबाट गुगलमा हेर्न सकिन्छ। त्यसको नेतृत्वदायी भूमिका लाक्पाले नै खेलेका हुन ।
रेडबुल, नेपाल ग्यास र माइटी शेर्पा हिमालयन बियरको विज्ञापनमा शेर्पा छाएका छन्।नेपाल पर्वतारोहण संघको कार्यकारी सदस्य रहिसकेका लाक्पा यी उत्पादका ब्राण्ड एम्बेसडर पनि हुन्।
नेपाल क्लाइमिङको लागि विश्वकै उत्कृष्ट देश भएको लाक्पाको ठहर छ।उनी भन्छन्-'म खासगरी एक पर्वतारोही हुँ। पर्वतारोहीको लागि नेपालमा अथाह सम्भावना छ।धेरै कमाइ नभएपनि बाँच्ने आधारसँगै नेपालमा नाम छ।म त्यतिमै खुसी छु।'