लुला जेलमुक्त भएपछिको तरंग

तस्बिरः एजेन्सी

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई डेढ वर्षको कारावासपछि नोभेम्बर ८ मा जेलमुक्त गरियो । लुला मुद्दाको बहस जारी रहेकाले उनी पुनः जेल जाने सम्भावना यथावत् छ । तथापि, सम्पूर्ण मुद्दा टुंगोमा नपुगेसम्म उनी जेलबाहिर रहन सक्नेछन् । वर्तमान राष्ट्रपति जेयर बोल्सोनारोको अलोकप्रियता ओरालो लागिरहेको समयमा ब्राजिलमा सबैभन्दा बढी मन पराइएका तथा सबैभन्दा बढी घृणा गरिएका व्यक्तिको राजनीतिक आगमनले देशको तनावलाई झन् गहिरो बनाउने निश्चित छ ।

सन् २०१८ अप्रिलमा लुला जेल गएदेखि उनको वर्कस पार्टी धर्मरायो । पार्टी अन्योलमा हुँदासमेत त्यसलाई सम्हाल्न सक्ने कुनै नेता देखिएनन् । चमत्कारी भाषणकला र ब्राजिलको इतिहासको सबैभन्दा लोकप्रिय राष्ट्रपतिको पहिचानले गर्दा लुला अहिलेको समयमा जनता परिचालन गर्न सक्षम एक मात्र विपक्षी व्यक्तित्व हुन् । रमाइलो कुरा, अहिले बोल्सोनारोको राष्ट्रपतित्वको विरोध मुख्यतः उनकै पार्टीभित्रबाट मात्र आइरहेको छ । लुला जेलमुक्त भएपछि पुनः जागेको पार्टीले बोल्सोनारोलाई सन्तुलनमा ल्याउने प्रतिक्रिया दिने विश्वास गरिएको छ ।

लुला सन् २०१८ को राष्ट्रपतीय चुनावी अभियानमा सबैभन्दा अग्रस्थानमा थिए । कैद भइसकेपछि पनि उनको अग्रस्थान कायम नै थियो । अदालतले नै लुलालाई निर्वाचनमा लड्न नपाउने फैसला गरेपछि उनको चुनावी अभियान अन्त्य भएको थियो । लुला शुक्रबार जेलमुक्त हुँदै छन् भन्ने घोषणा बाहिरिएसँगै कुरिटिवाको संघीय प्रहरी भवनबाहिर उनका कैयन् समर्थक पुगेका थिए । लुला जेलबाहिर आएपछि समर्थकले उत्साहका साथ खुसी व्यक्त गरे । भोलिपल्टै साओ पाउलोमा हजारौँ मानिसको उपस्थिति रहेको धातुसम्बन्धी काम गर्ने श्रमिक युनियन भेला भयो ।

प्रकाशित मिति: : 2019-11-16 17:22:39

प्रतिकृया दिनुहोस्