सचिन तेन्दुलकर काठमाडौंमा : शनिबार कीर्तिपुरमा क्रिकेट खेल्दै !

तस्बिरः बिएल नेपाली सेवा

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आइपुगेका छन्। यूनिसेफले आयोजना गरेको कार्यक्रमका लागि शुक्रबार सचिन काठमाडौं आएका हुन्।

यूनिसेफको सदुभावना दूत समेत रहेका सचिनले शनिबार किर्तिपुर क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल्नेछन्। बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको युनिसेफले जनाएको छ।

सचिनले नेपालका पूर्वकप्तान तथा प्रशिक्षक विनोद दाससँग त्रिवि क्रिकेट मैदानमा उक्त सद्भभावना म्याच खेल्नेछन। यू१९ च्यालेन्जर्स सिरिजको लागि भारतको हैदरावादमा रहेका विनोद दास पनि भारतबाट नेपाल आउने छन्।

सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन। खेल १० ओभरको हुनेछ। 

उक्त खेल शनिबार १० बजेबाट सुरु हुने भएपनि यूनिसेफले ९ बजेभित्र नै स्टेडियममा प्रवेश गरिसक्नुपर्ने जनाएको छ। मैदानमा खेल हेर्न जाने दर्शकले पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला बोक्न नपाउने भएका छन्।

विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरे। उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुशी लागेको व्यक्त गरेका छन्।

भारतमा सचिनलाई क्रिकेटको भगवान मान्ने गर्छन । विश्व क्रिकेटमा बनेका अधिकांश क्रिकेटका कीर्तिमान सचिनकै नाममा छन्। सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी मानिन्छन्।

प्रकाशित मिति: : 2019-11-15 22:39:57

प्रतिकृया दिनुहोस्