किर्ते तमसुक गराई दुई सय ९९ विपन्नलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् । परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन् । कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना पनि दुःख फर्किएलान् भनेर गाउँले त्रसित छन् ।
‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ ?’ लालबन्दी नगरपालिका–२ की फत्मा खातुनले भनिन् । अहिले पनि परदेशीका मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन् । ‘फोनमा गाली गर्छन्, मनपरी भन्छन्,’ खातुनले भनिन्, ‘ऊ जेलमै रहिरह्यो भने मात्रै हामी केही हदसम्म ढुक्क हुन सक्छौँ, उसका मान्छेका तथानाम गाली त बरु सहौँला ।’
परदेशी कारागारबाट फुत्किने जोडमा छन् । जिल्ला अदालत सर्लाहीको आदेशविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराइसकेका छन् । १४ कात्तिकमा पुनरावेदन निवेदन दर्ता गराएको उच्च अदालत स्रोतले नयाँ पत्रिकालाई बतायो । गत आइतबार गौर कारागारमै नयाँ पत्रिका टिमले भेट्दा परदेशीले पनि पुनरावेदनका लागि पारिवारिक सल्लाह भइरहेको बताए । तर, त्यो अघि नै उनले उच्चअदालतमा पुनरावेदन गरेका छन् । परदेशीको यो कसरतबाट विपन्न पीडित झन् त्रसित बनेका छन् । ‘परदेशी थुनाबाट निस्कियो भने हामी बर्बाद भइहाल्छौ्रँ,’ हरिपुर नगरपालिका–७ की शारदा चौधरीले भनिन्, ‘उसलाई राज्यले कसैगरी पनि निकाल्नुहुँदैन । नत्र हामी सयौँ पीडितका लागि अभिशाप हुनेछ ।’