उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाइ

फाइल तस्बिर

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकामा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडी र सम्पूर्ण नेपालीलाई बधाइ दिएका छन्। उनले बङ्गलादेशमा आज सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेर सारा नेपालीलाई खुसी दिएकामा नेपाल भलिबल सङ्घ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिनुभएका प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाइसहित धन्यवाद दिएका छन्। उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुसी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताएका छन् ।

उपराष्ट्रपति पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षणसमेत गराएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-14 22:12:57

प्रतिकृया दिनुहोस्