देशलाई कमजोर पार्ने तत्वका गतिविधि निस्तेज पार्न भरपर्दो सूचनाकाे आवश्यक छ: गृहमन्त्री

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापाले देशलाई कमजोर पार्ने तत्वका गतिविधि निस्तेज पार्न भरपर्दो सूचना आवश्यक पर्ने बताएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभित्र र बाहिर रहेका गलत व्यक्ति वा समूहका अतिरिक्त संगठित अपराध, सम्पत्ति शुद्धिकरण, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइम जस्ता गतिविधिहरुले देशलाई कमजोर बनाउने बताए।

‘यस्ता गतिविधिलाई निस्तेज पार्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुन्छ,’ उनले भने, ‘तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनिय बनाई व्यवसायिक इन्टिलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विभिन्न जिल्लामा अनुसन्धान संयन्त्र कमाण्ड गर्ने अधिकृतहरुको नेतृत्व क्षमता अभिवृद्धि गरी आगामी दिनमा प्रभावकारी कार्यसम्पादन लागि तालिम उपयोगी हुने बताए।

राष्ट्रिय सुरक्षा सम्बन्धी देखिएका चुनौतीहरुको सामना गर्न अनुसन्धान अधिकृतहरुमा सुरक्षा चुनौतीहरुको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवम् योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायहरुसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता हुन अपरिहार्य रहेको उनले बताए।

 

प्रकाशित मिति: : 2019-11-13 16:39:45

प्रतिकृया दिनुहोस्