वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।
बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए।
मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताए। उनका अनुसार काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया पुगेका थिए।
बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन्।
रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताए।