नेपालगन्ज सहरको यात्रा वि.सं. १९१७ देखि सुरु भयो । अंग्रेजबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फर्काएपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालगन्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारत लखनउको व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो ।
अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए । सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।
हालको त्रिभुवन चोकको नाम सुरुमा चोकबजार थियो । यही चोकबाट पूर्व र पश्चिम लाइन, इदगाहरोडलगायत सडकमा पसल, कबलसहितका घरहरू निर्माण गरेर जोशीले नेपालगन्ज सहर बसाए । हाल त्रिभुवनको सालिक रहेको स्थानमा एउटा चारपाटे दुईतले घर ठड्याइयो । सोही घरको माथिल्लो तलामा भन्सार राखियो । नेपालगन्जमा व्यापार गर्न आउने महाजनहरूलाई त्रिभुवन चोक र आसपासकै घरहरू उपलब्ध गराइयो । सोही कारण चोकबजार सधैँ गुल्जार रह्यो । यही चोक नेपालगन्ज नगरको केन्द्र बनिरह्यो । राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको सालिक राखियो । बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे रे ।