राष्ट्रपति हमिद चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै

तस्बिरः एजेन्सी

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको चारदिने औपचारिक भ्रमणका लागि आज (मंगलबार) काठमाडौं आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्।

करिब ७० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हमिद दिउँसो सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन्। हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाको टुकुडीले हमिदलाई सम्मान गारत अर्पण गर्नेछ।नेपाल भ्रमणका क्रममा उनले काठमाडौंका विभिन्न ऐतिहासिक तथा सांस्कतिक सम्पदास्थल र पोखराको समेत भ्रमण गर्ने बताइएको छ।

नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।

सन् १९४४ मा जन्मिएका हमिद सन् २०१३ मा पहिलो पटक बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको दोस्रो कार्यकालका लागि उनी सन् २०१८ मा पुनःनिर्वाचित भएका थिए। राष्ट्रपति हुनुअघि उनी बंगलादेशको राष्ट्रिय संसदको सभामुख रहेका थिए। उनले सन् २००९ देखि २०१३ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए । सन् २०१३ मा तत्कालीन बंगलादेशका राष्ट्रपति जिलुर रहमानको मृत्यु भएपछि उनी कार्यकारी राष्ट्रपतिसमेत भएका थिए।

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बंगलादेशको स्वतन्त्रतालाई स्वीकार्दै त्यसलाई मान्यता दिई कूटनीतिक सम्बन्धको हात अघि बढाउने नेपाल विश्वको सातौं देश हो।

प्रकाशित मिति: : 2019-11-12 07:42:26

प्रतिकृया दिनुहोस्