आलम प्रकरण: प्रत्यक्षदर्शी भन्छन्— बम होइन् स्टोभ पड्केको हो

फाइल तस्बिर

राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उहाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी छन्। उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन्।

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उहाँकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएका थिए। तेइस जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेका थिए।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएका थिए।

प्रकाशित मिति: : 2019-11-11 20:50:46

प्रतिकृया दिनुहोस्