भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ।
नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान शुरु गरेको हो।
भक्तपुरबाट शुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै नेमकिपाले भक्तपुरलगायत देशका विभिन्न जिल्लामा विरोध जुलुस एवं सभाको आयोजना गरेको छ।
नेमकिपाले भक्तपुर, कीर्तिपुर, जुम्ला, नेपालगञ्ज, कैलाली, सुर्खेतलगायतका स्थानमा जुलुस तथा विरोध सभाहरु गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए।
नेमकिपाले आफ्ना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्लाजिल्लामा अभियान सञ्चालन गरेको उनले जनाए। भारतले नेपाली भूमि फिर्ता गरेर भारतीय सेना नहटाएसम्म नेमकिपाको विरोध जारी रहने उनले बताए।