गुठी जग्गामा बनेको धर्मशालामा भारतीयको रजाइँ, ९३ वर्षदेखि भारत पुग्दै आम्दानी !

जनकपुरधाम – सरकारी गुठीको स्वामित्वमा रहेको जनकपुरस्थित जग्गामा बनाइएको धर्मशालाको आम्दानी ९३ वर्षदेखि भारतीय नागरिकले लिँदै आएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रामचोकको छेउमै बनेको जनकपुरकै सबैभन्दा पुरानो धर्मशाला हो, गोपाल धर्मशाला । 

सरकारी गुठीको स्वामित्वमा रहेको करीब ३ बिघा जग्गामा बनाइएको उक्त धर्मशालामा भारतीय नागरिकले राजेश शर्माले कब्जा मात्र जमाएका छैनन्, धर्मशालाबाट हुने आम्दानी समेत वर्षौंदेखि उनैले लिने गरेका छन् । 

भारतको कलकत्ता निवासी शर्मा रकम लिन प्रत्येक वर्ष जनकपुर आउने गरेका छन् । भारतीय नागरिकले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको उक्त धर्मशालामा राजकुमार झा नाम गरेका व्यक्तिलाई म्यानेजर बनाएर राखिएको छ । धर्मशालाबाट हुने आम्दानी झाले नै संकलन गरेर भारतीय नागरिक शर्मालाई बुझाउने गरेका छन् ।

धर्मशालामा तल १९ वटा कोठा, माथिल्लो तल्लामा १३ वटा कोठा र हलसहित ठूलो परिसर छ । नेपाल र भारतका तीर्थालु आएर उक्त धर्मशालामा बस्ने गर्छन् ।

म्यानेजर झाका अनुसार मासिक ४० देखि ६० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ । कोठा भाडाबाट आम्दानीको रकम त्यसभन्दा धेरै बढी हुने गरेको स्थानीय गणेश युवा क्लबका पूर्वअध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् ।

प्रकाशित मिति: : 2019-11-11 16:24:41

प्रतिकृया दिनुहोस्