हरेक संस्था स्थापनाको ध्येय हुन्छ। त्यो ध्येय पूरा गर्ने उद्देश्य राखिन्छ। त्यसअनुकूलको विधानसमेत बनाइन्छ। स्थापनाका केही दिन, केही महिना उत्साह र जाँगर पनि चल्छ। संस्थामार्फत समाज विकासमा योगदान पुर्याउँछु भन्ने स्थापनाकर्ताहरूको उद्देश्य हुन्छ। त्यो विस्तारै निष्क्रिय हुँदै जान्छ। त्यस्ता संस्था स्थापनामा लाग्नेहरूमा अवकाशप्राप्त जीवन बिताइरहेकाको बाहुल्य हुन्छ। किनकि पदमा बसेका बेलाको सम्मान अवकाश जीवनपछि पाइँदैन भन्ने ख्याल उनीहरूमा हुँदैन।
कुनै जमाना राज्यका जिम्मेवार पदमा बसेको मान्छे भएपछि आजीवन पुजिन्छ भन्ने मान्यता बोकेकाहरूको बाहुल्य छ समाजमा। हिजो पदमा बस्दा सामान्य नागरिकलाई भेट्दा सानो भइन्छ भन्नेहरू अहिले त्यही भेट्न जाने व्यक्तिबाट सम्मानको आस गरेको हुन्छ। उसले त्यो पुरानो कुरा बिर्सन्छ। भेट्न जानेलाई थाहा हुन्छ- हिजोको तेरो शैली र औकात बिर्सिएको छु र आज सम्मानको आशा गर्ने ?