टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

फाइल तस्बिर

टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो ।

अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको संयोजक विजय श्रेष्ठले बताए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने उनले बताए ।‘अकुपाइ टुँडिखेल’मा विभिन्न जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु बोकेका अभियन्ताहरु मानव साङ्लोमा रुपान्तरण हुनेछन् । अभियन्ताहरुले नाराहरुसहितको बेलुन उडाउने कार्यक्रम पनि रहेको छ । अभियन्ताहरुले आफ्नो प्रदर्शनको क्रममा ट्राफिक र सवारी आवगनमा कुनै अवरोध हुन दिने छैनन् । यसको लागि स्वयम्सेवक नै परिचालन गरिने आयोजकले जनाएको छ ।

अभियानमा सहभागी हुन आयोजकले विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरुलाई सहभागी हुन सार्वजनिक आह्वान गरेको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगै नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतले अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-09 07:44:24

प्रतिकृया दिनुहोस्