शाहरुख र अजय देवगनसँग खलनायकी अभिनयमा देखिएका नेपाली(भिडियोसहित)

बलिउडकाे सुपरहिट फिल्म चेन्नई एक्सप्रेसमा खड्ग लिएर उभिएका नवराज बिश्वकर्मा। तस्बिर: नवराज।

चलचित्र नगरी मुम्बई धेरैका लागि सपनाको संसार हो। यहाँ बर्षेनी कलाकार बन्ने सपना बुनेर थुप्रै नेपाली ओइरिने गर्दछन्। तर, बलिउडको भीडमा थुप्रै नेपाली बिलाएर गएका छन्। केहीले भने आफ्नो प्रतिभा देखाएर छुट्टै स्थान बनाएका छन्। 

माला सिन्हा, मनिषा कोइराला र उदितनारायण झापछि बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अर्का नेपाली कलाकार हुन्, नवराज बिश्वकर्मा। अझ उनी मराठीहरुको घरघरमा चिनिने नाम हुन्।

गंगाजल, दंबग, चेन्नई एक्सप्रेस, मसाला, भैया जि सुपरहिट जस्ता फिल्ममा काम गरिसकेका नवराज मूलत खलनायकी पात्रमा देखापर्ने गर्छन्। उनले नेपाली फिल्ममा कमै काम गरेका छन्। श्रीकृष्ण श्रेष्ठको आग्रहमा कोहिनुरमा अभिनय गरेका नवराज हिन्दी र मराठी फिल्ममा ए ग्रेडको कलाकारको सूचिमा छन्।

खाइलाग्दो ज्यान। अनि भारी स्वरका कारण खलपात्रको भूमिकामा उनी उत्तिकै सटिक देखिन्छन्। उनको पूख्योली घर अछाम हो। तर, उनको जन्म भारतको महाराष्ट्रमै भएको थियो। उनले बलिउडमा कमाएको पैसाले कैलाली जिल्लामा पनि जग्गाजमिन जोडेका छन्।

हाल उनी महाराष्ट्रको सातारा जिल्लामा बसोबास गर्छन्। नवराजले कलेजस्तरको शिक्षा पनि महाराष्ट्रबाटै लिएका थिए।

उनलाई बाल्यकालदेखि नै कलाकारितामा रुचि थियो। वास्तवमा नवराजको अभिनय यात्रा मृत्युदण्ड फिल्मबाट सुरु भयो। उनले यो फिल्म खेलेपछि लामो समय काम पाएनन्। उनले पेट पाल्नका लागि बीचको ९ वर्ष चलचित्रसँगै सम्बन्धित अन्य काम गरे।

तर, उनलाई अभिनयको हुटहुटीले भने तानिरह्यो। बलिउडका चर्चित निर्देशक प्रकाश झाले निर्देशन गरेको चलचित्र गंगाजलमा काम गर्ने अवसर पाएपछि उनको भाग्य एकाएक चम्कियो। अहिले उनलाई बलिउडमा फिल्मको कमि छैन। अझ मराठी फिल्ममा जमेको उनको करिअरले महाराष्ट्रको घरघरमा उनलाई चिनाएको छ।

उनले मराठी फिल्म कालुबाई भाइचाका लागि उत्कृष्ट खलनायकको राष्ट्रिय अवार्ड नै जितेका थिए। संघर्षलाई नजिकबाट बुझेका नवराजले बिएल नेपाली सेवासँग भने– सिक्दा सानो हुइदैन्। सानो मान्छे बन्न सिक्नु पर्छ।

किशोर अवस्थामा फिल्मको सपना बुनिरहेका नवराज त्यति बेला स्तब्ध भएका थिए, जब उनले आफ्नो अभिनय कला देखाउन नपाउँदै आमाको निधन भयो। उनले आमालाई रेल दुर्घटनामा गुमाएका थिए।

आमाको दुर्घटनाको दिन सम्झदा अहिले पनि दुस्खी बन्ने नवराज भन्छन्– कलाकारसँग विशिष्ट कला हुनुपर्छ।

उनले आमाकै सम्झनामा दुःख नै दुःखको जीवन भाकाको गीत नेपाली र मराठी भाषामा गाएका छन्। पर्दामा खलनायक र वास्तविक जीवनमा आफूलाई नायक मान्ने नवराज बुबा र श्रीमतिको बिश्वास र सहयोगकै कारण सफल भएको बताउँछन्। उनी कलाकारितासँगै राजनीतिलाई पनि उतिकै माया गर्छन्। महाराष्ट्रमा उनी शिव सेनासँग निकट छन्। उनी बहुजन चित्रपट सेना कलाकार अघाडी महाराष्ट्रका अध्यक्ष पनि हुन्।

नवराजले बलिउड स्टार सनी देओल, अजय देवगन, सलमान खान, शाहरुख खान, माधुरी दीक्षितसँग अभिनय गरेका छन्। नेपाली फिल्ममा उनी शिव श्रेष्ठसँग नजिक छन्। उनी श्रीकृष्ण श्रेष्ठसँग पनि नजिक थिए। दिवंगत नायक श्रीकृष्णसँग उनको विशेष सम्बन्ध थियो। उनकै आग्रह टार्न नसक्दा उनले कोहिनुर फिल्ममा अभिनय गरेका थिए। यो फिल्मले उनलाई नेपाली दर्शकमाझ राम्रै पहिचान दिलाएको थियो।

नवराजले हालसम्म हिन्दी, दक्षिण भारत, मराठी र नेपाली भाषाका गरी एक सय पैतिस फिल्ममा अभिनय गरिसकेका छन्।

 

प्रकाशित मिति: : 2019-11-08 18:07:51

प्रतिकृया दिनुहोस्