पूर्वमन्त्रीको प्रश्न– कुन हैसियतले गोविन्दाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष उपयोग गर्न पाए ?

बिएल

बलिउड अभिनेता गोविन्दा आहुजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिएकोप्रति भूतपूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले प्रश्न उठाएका छन् ।

थापाले बिहिबार सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् । मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘हामीले नबुझेको कुराचाहिँ कुन हैसियतले बलिउड अभिनेता गोविन्दा अहुजाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष उपयोग गर्न पाए ? जवाफ पाइएला कि ? भारतमा हाम्रा कलाकारले त्यो सुविधा पाउँछन् ?’

गोविन्दा नेपाल चलचित्र निर्माता संघको निमन्त्रणामा वीरगञ्जमा आयोजना गर्ने ‘स्वर्णिम चलचित्र महोत्सव’मा भाग लिन नेपाल आएका हुन् ।

गत मंगलबार नेपाल आएका गोविन्दा र उनकी पत्नी सुनितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राखिएको थियो । यो कक्ष अहिलेसम्म कुनै पनि नेपाली कलाकारलाई भने प्रयोग गर्न दिइएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्न पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । यो वर्गीकरणमा कलाकारहरूलाई समावेश गरिएको छैन । तर, भारतबाट चर्चित कलाकारहरू आउँदा विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति: : 2019-11-07 11:54:49

प्रतिकृया दिनुहोस्