अपहरित बालक छुटाउन प्रहरीले गोली चलायो

बिएल

प्रहरीले अपहरणमा परेका एक बालकलाई वीरगन्जबाट सकुशल उद्धार गरेको छ।

वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भइ काभ्रेको बनेपामा बस्दै आएका अमजद खानका १४ वर्षीय छोरालाई प्रहरीले बुधबार वीरगन्जबाट सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार अपहरणकारीलाई फिरौति रकम बुझाउन जाँदा प्रहरीले गोली हानी नियन्त्रणमा लिएपछि बालकको उद्दार गरिएको हो।

प्रहरी नियन्त्रणमा रहेका पोखरिया नगरपालिका वडा नम्बर ६ सोनवरी निवासी जोख्खु दासका २० वर्षिय छोरा राज कुमार दासले दिएको सूचनाका आधारमा प्रहरीले अपहरित बालकलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती भारतीय गाउँबाट सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बिएल नेपाली सेवालाई जानकारी दिए।

अपहरणकारीले बालकलाई विगत १० दिन देखि सिमा पारी शहर रक्सौलमा बन्धक बनाएर राखेका थिए।

वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया घर भई हाल काभ्रेको बनेपामा बस्दै आएका अम्जद खानका छोरा बनेपाबाट पर्सास्थित घर आउने क्रममा बिच बाटोमै यही कात्तिक १० गतेबाट बेपत्ता भएपछि परिवारजनले प्रहरीमा खबर गरेका थिए।

अचानक बेपत्ता भएको बालकले प्रयोग गर्दै आएको मोबाईल नम्बरबाट नै अपहरित बालकको बुवासँग १२ लाख रुपैया फिरौती माग गर्दै बारम्बार मार्ने धम्कि दिएपछि पर्सा प्रहरीले उनको खोजी तिब्र पारेको थियो।

अपहरित बालकका बुवा अम्जद खानसँग अपहरणकारी दासले फिरौतीको रकम लिन भारतीय नं. को मोटरसाईकल बि आर २२जे ०८०३ प्लेटिनामा भारतबाट नेपालआएसँगै प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको थियो।

विशेष सुराकीको आधारमा आफूहरूले अपहरणकारी र अपहरित बालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रोठौरले जानकारी दिए।

अभिभावकसँग फिरौतीको रकम लिँदै गर्दा प्रहरी देखेसँगै अपहरणकारीले प्रहरीमाथि बन्दुक ताकेपछि दासलाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अपहरणकारीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको प्रहरी उपरीक्षक रोठौरले बताए।

प्रहरीले चलाएको गोली दासको दाहिने खुट्टामा लागेको छ। बालकलाई भने सोहि समयमा भारतीय सुरक्षाकर्मीको सहयोगमो उद्दार गरेको पर्सा प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएको छ।

प्रहरीको गोलीबाट घाईते भएका दासको नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

अपहरणमा थप २ जनाको पनि संलग्नता रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा रहेका दासले चढेको भारतीय मोटरसाईकल, कटुवा पेस्तोल एक थान, कटुवा पेस्तोलको चेम्बरमा लोड गरिएको गोली १ राउण्ड, सोमा प्रयोग हुने गोली राउण्ड ४ थान, मोबाईल १ थान, ब्लुटुथ, ईयरफोन १ थान र झोला १ थान बरामद गरिएको प्रहरी उपरिक्षक राठौरले बताए ।

प्रकाशित मिति: : 2019-11-06 14:43:27

प्रतिकृया दिनुहोस्