धादिङको सिद्धलेक-७ की ६२ वर्षीय तुलसा आचार्य गत असोज ३० गते गाईबाख्रालाई घाँस-सेउला काट्न करेसामा गइन्। घाँस काट्ने क्रममा उनको दाहिने खुट्टाको पैतालामा काँडा बिझ्यो। निकाल्न खोजिन्, थोरै निस्कियो बाँकी भित्रै रह्यो।
सुरू त्यति दुखाइ थिएन। निको भइजाला भन्ठानेर घरेलु उपचार गरिन्।
पछि पैताला सुन्नियो। खुट्टा टेक्नै नहुने गरी पीडा हुन थाल्यो। बाँया खुट्टाको भरमा घरमा भित्र-बाहिर गरिन्।
दुखाइ कम हुनुको साटो थपिँदै गयो। अर्को खुट्टामा पुरै शरीरको भार पर्यो। बाँया खुट्टाले भार थाम्न सकेन, हिँड्नै नसक्ने गरी मर्कियो।
हिँड्डुल गर्न ठप्प भएपछि कात्तिक ३ गते छोरा विष्णु आचार्यले आमालाई काठमाडौं ल्याए। निजी अस्पताल गए काँडा निकालेकै कति धेरै पैसा लिन्छन् बरू सरकारी नै ठीक भनेर सोझै वीर अस्पताल गए। अस्पताल पुग्दा ओपिडी बन्द थियो।
तुलसाको दुखाइ बढ्दै थियो। घाउ टन्किएर न सुत्न सक्थिन् न उठ्न नै। विष्णुले आमाको त्यस्तो अवस्था हेर्न सकेनन्, सोही साँझ आकस्मिक कक्षमा भर्ना गराए।
डाक्टर आए। तुलसाले घटनाबारे विस्तृतमा भनिन्। डाक्टरले ओल्टाइपल्टाइ हेरे र भने- यी परीक्षण गराउनुस्।
काँडा बिझेर गएकी तुलसालाई ११ वटा परीक्षण गर्न लगाए। पीडा बढ्दै थियो, झन् डाक्टरले भनेपछि परीक्षण त गर्नैपर्यो। डाक्टरको सल्लाहअनुसार उनले सबै परीक्षण गरिन्।