हत्याको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमसँग जिल्ला अदालतले बयान लिन सुरु गरे लगत्तै केहीसमयका रोकिएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सुरु गरेलगत्तै रोकिएको हो ।
जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकोले आलमको बयानमा ढिलाइ भएको हो । मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको छ ।
सरकारी वकिल कार्यालयले सोमबार आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दर्ता गराए पछि मंगलबार उनीसित बयान लिइएको हो ।
अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घटना नै नभएको भन्दै बयान दिएका छन् । उनको इन्कारी बयान पछि प्रहरीले पोलिग्राफको तयारी गरेको थियो । तर आलमले मानेनन् । अदालतमा समयमै उपस्थित गराइए पनि मिसिल ठूलो भएकाले फोटोकपी मै समय धेरै लागेको न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जनाए ।
पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।
सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।
आलमको तर्फबाट शम्भु थापासहित २० जनाले बहस गर्ने छन् l
पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।
सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।
उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।