पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ ।
निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनि भारत बिहारको बेतिया जिल्ला बरवा पञ्चायत १० भंगवा थाना घर भई हाल पर्साको जिराभवानी गाउँपालिका वडा नं. ३ परसवामा बस्दै आएका थिए ।
उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
आइतबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको ओरिया खोलियाको डिलमा घाँटी रेटेर विभत्स अवस्थामा निपुदेवीको शव फेला परेको थियो ।
भारत बिहारको पचरुखी सेढवा माइतीघर भएकी निपुलाई उनकै श्रीमानले हत्या गरेको भन्दै माइती पक्षले प्रहरी समक्ष बयान दिएका थिए ।
मृतकको बुवा कपिलदेव पाशवानका अनुसार मृतक नितुको करीब १ बर्ष पहिले रामबावुसँग विवाह भएको थियो। मृतकका श्रीमानको अन्य महिलासँग सम्बन्ध रहेको भन्दै माइती पक्षको बयानको आधारमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो ।
यस्तो थियो घटना
आइतबार बिहान छठ पर्व सकेर मृतकको बहिनीको विवाहपछि हुने विदाई गवना रहेकाले पति रामबाबु पाशवानले उनलाई माइतीघर पुर्याउने क्रममा बाटोबाट नै हराएको भन्दै माइतीपक्षलाई जानकारी गराए।
पेट्रोल भर्न जाने क्रममा छोरी बाटोबाट नै बेपत्ता भएको भन्दै रामबाबुले मृतकको बुवा कपिलदेवलाई फोन गरेको मृतकको बुवा कपिलदेवको भनाइ उद्दृत गर्दै पर्सा प्रहरीले जनाएको छ। घटना थाहा पाएलगतै ससुरा र ज्वाइँ मिलेर केही समय मृतक पाशवानको खोजी गरेका थिए। तर, छोरी फेला नपरेपछि ससुरा र ज्वाइँ छुट्टिएर आआफ्नो घर गएका थिए।
स्थानियले कसैको लाश पर्सा राष्ट्रिय निकुञ्जको ओरिया खोलियाको डिलमा भेटेको हल्ला गरेपछि मृतकको बुवाले राति करिब ८ बजे हेर्न जाँदा आफ्नै छोरी रहेको प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलबाट धाँरिलो २ वटा तरकारी काट्ने चक्कुसमेत बरामद गरिएको थियो ।