बझाङको बुंगल नगरपालिकास्थित कालङ्गा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ ।
आइतबार सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको डिएसिपी गणेशबहादुर बमले बताए ।
उनीहरुसँगै रहेका अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएका थिए । हाइड्रो पावरको सुरुङमा थुनिएका मजदुरको उद्धारका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका थिए ।
उनीहरुबाट उद्धारको सम्भावना नदेखिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको ६ जनाको टोली हेलिकोप्टरमार्फत् बझाङ पुगेको थियो ।