नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।
काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिए ।
'प्रहरीले केही दिनअघि दाङमा चलाएको अप्रेसनका क्रममा पक्राउ परेका विप्लव समूहमा आबद्ध छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न उहाँ दाङ जाँदै हुनुहुन्थ्यो।'उप्रेतीले भने,'थानकोट नपुग्दै गाडीभित्रै बेहोस हुनुभयो त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गर्यौं ।'
उनका अनुसार, चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
उप्रेतिका अनुसार सुवेदीमा यसअघि मुटुको समस्या देखिएको थिएन ।
नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।