पर्सामा एक युवतीको घाँटी रेटेर विभत्स हत्या, श्रीमान पक्राउ

बिएल

पर्साको ठोरी गाउँपालिका वडा ५ मा शंकास्पद अवस्थामा मृत भेटिएको युवतीको शवको पहिचान भएकाे छ। आइतबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको ओरिया खोलियाको डिलमा घाँटी रेटेर विभत्स अवस्थामा मृत भेटिएकी किशोरी १९ वर्षीय निपुदेवी पाशवान भएकाे पर्सा प्रहरीले जनाएको छ।

भारत बिहारको पचरुखी सेढवा माइतीघर भएकी निपुलाई उनकै श्रीमानले हत्या गरेको भन्दै माइती पक्षले दिएको बयानको आधारमा मृतकका श्रीमानलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेको दोषी भारत बिहारको बेतिया जिल्ला बरवा पञ्चायत १० भंगवा थाना घर भई हाल पर्साको जिराभवानी गाउँपालिका वडा नं. ३ परसवामा बस्दै आएका २५ वर्षीया रामबाबु पासवान रहेका छन्।

मृतकको बुवा कपिलदेव पाशवानका अनुसार मृतक नितुको करीब १ बर्ष पहिले रामबावुसँग विवाह भएको थियो। मृतकका श्रीमानको अन्य महिलासँग सम्बन्ध रहेको भन्दै माइती पक्षको बयानको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। 

यस्तो थियो घटना

आइतबार बिहान छठ पर्व सकेर मृतकको बहिनीको विवाहपछि हुने विदाई गवना रहेकाले पति रामबाबु पाशवानले उनलाई माइतीघर पुर्याउने क्रममा बाटोबाट नै हराएको भन्दै माइतीपक्षलाई जानकारी गराए।

पेट्रोल भर्न जाने क्रममा छोरी बाटोबाट नै बेपत्ता भएको भन्दै रामबाबुले मृतकको बुवा कपिलदेवलाई फोन गरेको मृतकको बुवा कपिलदेवको भनाइ उद्दृत गर्दै पर्सा प्रहरीले जनाएको छ। घटना थाहा पाएलगतै ससुरा र ज्वाइँ मिलेर केही समय मृतक पाशवानको खोजी गरेका थिए। तर, छोरी फेला नपरेपछि ससुरा र ज्वाइँ छुट्टिएर आआफ्नो घर गएका थिए।

स्थानियले कसैको लाश पर्सा राष्ट्रिय निकुञ्जको ओरिया खोलियाको डिलमा भेटेको हल्ला गरेपछि मृतकको बुवाले राति करिब ८ बजे हेर्न जाँदा आफ्नै छोरी रहेको प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलबाट धाँरिलो २ वटा तरकारी काट्ने चक्कुसमेत बरामद भएको सूवर्णपुर प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक निलराज काफ्लेले जानकारि दिए।

मृतकको लाश सामुहिक बलात्कार गरी घाँटी रेटेको घटना जस्तो देखिए पनि पारीवारिक वा अन्य कुनै कारणले हत्या भएको भन्नेबारे अनुसन्धान भइरहेकाले घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरी उपरीक्षक राठौरले बताए। मुतक निपुको शव सोमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2019-11-04 21:41:01

प्रतिकृया दिनुहोस्