महराको बयान : रोशनीलाई सहयोग गर्न गएको थिएँ तर घरभित्र नछिरी फर्किएँ

फाइल तस्बिर:बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।

उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।

सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते वृत्त नयाँबानेश्वर–२६ (३०)२०६७.०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।

महराले प्रहरीलाई र सरकारी वकिलको कार्यालयले घटना भएका बेला प्रयोग भएको मोबाइल फोन दिएका थिएनन । उनले घटनापछि आफुले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताएका थिए ।

सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफुले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छन् ।

'तीनकुनेमा सम्झाउन मात्रै गएको हुँ'

मिति २०७६/०६/१२ गतेका दिन अञ्दाजी ३/४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा संसद सचिवालयकी कर्मचारी रोशनी शाही आई मेरो समायोजन मिलेन, म अन्यायमा परेँ भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै आक्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ ।

तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जानरु, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आवेग र आक्रोशमा अफिसबाट फर्केकी थिइन् ।

आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।

यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीनजना सुरक्षाकर्मीसहित मिति २०७६/०६/१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०/२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।

घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवासमेत राखेको हुन सक्छ ।

‘हार्ड ड्रिङ्स’ सेवन गर्दिनँ'

उनले आफू रक्सीमा ‘हार्ड ड्रिङ्स’ सेवन नगर्ने जिकिर गरेका छन् । ‘कहिलेकाही औपचारिक समारोहहरुमा वाइन थोरैमात्रामा लिने गरेको छु,’ महराले बयानमा भनेका छन्, ‘करिब १२ वर्षदेखि यता बजारमा मैले रक्सी किनेको पनि छैन, बोकेर हिँड्ने प्रसंग नै भएन । त्यसैले रक्सी बोकेर आएको भन्ने कुरा विल्कुलै निराधार हो ।’

उनले भनेका छन् निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।

साढे ७ वर्षसम्म कैद सजाय माग

अभियोग पत्रमा मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरिएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर, महराले उद्योग मात्र गरेको निष्कर्ष निकालिएको छ । त्यसैले दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायँको आधा मात्र सजाँय हुने व्यवस्था अनुसार माग गरिएको छ ।

महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम डेढ गुणा बढी सजाय पनि माग गरिएको छ । यसअनुसार सरकारी वकिल कार्यालयले महरामाथि ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजायँ माग गरेको छ ।

साथै, अपराध संहिताको दफा २२८ एवं अपराध पीडित संरक्षण ऐनको दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि माग गरिएको छ ।

 

 

 

प्रकाशित मिति: : 2019-11-01 17:03:47

प्रतिकृया दिनुहोस्