वीरगञ्ज जेल भित्र छठ मनाउन महिला कैदी जुटे

बिएल
तराई मधेशको ठूलो चाडको रुपमा रहेकाे छठ पर्वको लागि वीरगञ्ज कारागारभित्र रहेका ३५ ब्रतालु महिला कैदीबन्दी ब्रतको तयारीमा जुटेका छन्। विभिन्न मुद्दामा सजाय पाएका ब्रतालु महिला कैदी अहिले छठको तयारीमा ब्यस्त देखिन्छन्।
 
परिवारबाट कोही आफन्तजन भेट्न नआए पनि श्रीमान, सन्तानलगायत घर–परिवारको सुख शान्तिको कामना गर्दै उनीहरु छठ परमेश्वरीको आराधना गर्दैछन्। ब्रतालु कैदीको धर्मिक आस्थाकाे सम्मान गर्दै वीरगञ्ज कारागारले पनि उनीहरुको पुजा व्यवस्थापनमा सहयोग पुर्याइरहेकाे छ।
 
पुजाको विधिमा कुनै गल्ति भए छठी माताले दण्ड दिने जनश्रृतिका कारण कैदी जीवन भोगिरहेका ब्रतालु महिला यति बेला सानाे भन्दा सानाे गल्ति नहाेस् भनेर सचेत देखिन्छन्। अरु समय ब्रतालु कैदी जुनसुकै अवस्थामा बसे पनि अहिले भने शारीरिक सरसफाईदेखी कारागारको सरसफाईमा पनि विशेष ध्यान पुर्याइरहेका छन्। शुद्धता र पवित्रताको प्रतिकको रुपमा मनाई छठ ब्रतको मुख्य प्रसाद ठेकुवा, खीर र पुरी हो। जसलाई तयार गर्न महिला कैदी बस्ने कारागार भित्रको आङ्गनमा लस्करै माटोकाे चुलो सुकाइएको छ।
 
एकैनासका ती माटाका चुल्हो हेर्दा आकर्षक त देखिन्छ नै तर उनीहरुकाे सम्पर्ण देख्दा आस्था, भाव र श्रद्धा पनि झल्किन्छ। छठ ब्रतलाई पुजाको रुपमा नभई कठिन तपस्याको रुपमा लिने गरिन्छ। जसकारण फरक समुदायबाट आएका ती कैदी महिलाले आफ्नो लागि छुट्टै चुलो बनाएका छन्। चुलोको लागी चाहिने पहेँलो माटो भने कारागार प्रशासनले उपलब्ध गराएकाे छ।
 
कैदी जीवन बिताइरहेकी पर्सा नितनपुरकी ४५ वर्षिया प्रभावति देवी विगत २० बर्षदेखि छठको ब्रत बस्दै आइरहेकी छिन्। उनी लागुऔषध ओसारपाेसार मुद्दामा १४ वर्षअघि पक्राउ परेकी थिइन।  पक्राउ परेयता उनी १४ वर्षदेखी कारागार भित्रै छठको ब्रत बस्दै आएकी हुन्। दुई सन्तानकी आमा प्रभावति भन्छिन्–“जीवनमा आफूले जुनसुकै परिस्थितीमा गल्ति गरेपनि आफ्नो सन्तान सहि काम गरोस् भनेर छठी माईसँग बिन्ती गर्छु। आफूलाई ब्रतको खर्च लत्ता कपडा दिन घर परिवारबाट कोही नआए पनि उनीहरुको सुख शान्तिको लागी ब्रत गरिरहेकाे छु।”
 
घर परिवारकाे सुख शान्तिका लागि ब्रत गरे पनि परिवारजनसँग भेटघाट तथा खर्च नपाउने अर्का कैदी गीता कुशवाहा भन्छिन्। उनी आफूहरुले जेलभित्र गर्ने सीपमुलक तालिमबाट आर्जन गरेकाे पैसाले ब्रतको खर्च जुटाउने गरेकाे बताउँछिन्। कैदी कुशवाहा कारागारले आवश्यक सामानको व्यवस्था मिलाइदिँदा सहज हुने गरेकाे बताउँछिन्। विगत २ वर्षदेखि कैदी जीवन बिताइरहेकी बारा निजगढ निवासी गौरी थापा कारागारमा आएर छठ ब्रतको सुरुवात गरेको बताउँछिन्।
 
छठ ब्रतको बारेमा खासै जानकारी नभए पनि अन्य ब्रतालुको आस्था देखेर आफू पनि ब्रत बस्न थालेकाे उनकाे भनाई छ। थापा भन्छिन् –“म निर्दोश छु र अब आफू कारागार भित्र रहेकाले न्याय पाउनका लागि  ब्रत बसेकी हुँ।” श्रीमानले पठाइदिएको रुपैयाँले कारागारका चौकिदार मार्फत उनले पुजाको सामान मगाउने गर्छिन्। अन्य सामाग्री खरिदमा पनि चौकिदारहरुले सहयोग गरिदिने ब्रतालु महिलाको भनाई छ।
 
कारागार भन्दा बाहिर विभिन्न अपराधिक गतिविधि गरेर कैदी जीवन बिताइरहेका अपराधीहरु छठ पर्वको अवसरमा एक आपसमा मिलेर सहयोग गर्दैछन्। पुरुष कारागार परिषर भित्र नै सानो पोखरी छ। भगवान सूर्यलाई अर्ग दिन छठको अवसरमा महिला कैदीलाई सो क्षेत्र भित्र पुजा अवधि भरी जाने व्यवस्था मिलाइने गरिन्छ।
 
पोखरीको सफाई तथा सजावटमा प्रत्येक वर्ष झै यसपालि पनि आन्तरिक प्रशासनअन्तर्गत चौकिदार नाईके तथा पुरुष कैदीले सहयोग गरेका छन्। निकै खर्चिलो मानिने छठ ब्रतको तयारीका लागी कारागारको पहलमा वीरगञ्जका विभिन्न दातृ निकाय तथा संघ सस्थाले सहयोग गरिदिने गरेको कारागार प्रमुख श्रवणकुमार पोखरेले बताए।
 
चाडपर्व मनाउन नेपाल सरकारबाट आएको ३ सय रुपैयाँ प्रत्येक कैदीबन्दीले पाएको उनकाे भनाई छ। संघ सस्थाले पनि प्रत्येक वर्ष नयाँ कपडा, गहुँ, बासँको डाला, नाङ्गलो, सुपली लगायत अन्य सामग्री सहयोग गर्ने गरेकाे कारागार प्रमुख पोखरेलले बताए। यस वर्ष कपडाको व्यवश्था ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले गरेको छ। 
 
 
 
प्रकाशित मिति: : 2019-10-31 08:02:28

प्रतिकृया दिनुहोस्