ललितपुरको ग्वार्कोबाट तीन जना पेसेबर डाँका पक्राउ परेका छन् । शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसभित्र घेरा हाली धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने तीनजना लुटेरा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर,सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ते सुजन तामाङ र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् ।
उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा. ३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली रकम लुटेका थिए ।
बनेपाबाट कोटेश्वर ओर्लिएका उनी जावलाखेलमा रहेको मेनपावर जानको लागि बस चढेको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।
डिएसपी मिश्रका अनुसार खबर पाएलगत्तै बसलाई प्रहरीले सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो ।चेकजाँचको क्रममा सुजन तामाङको साथबाट लुटिएको ६४ हजार बरामद भएको उनले बताए ।
प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।