शनिबार, ११ अक्टोबर २०२५

नोबेल पुरस्कार पाएकी मचाडो भन्छिन्- यो पुरस्कार ट्रम्पलाई समर्पण गरेँ

News Image
• • •

यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी मारिआ कोरिना मचाडोले उक्त पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाका जनतालाई समर्पण गर्ने बताएकी छिन्।

‘म आफै पनि चकित परेकी छु। पत्याउनै सकिरहेकी छैन। म त्यसका लागि सायद योग्य पनि थिइनँ कि! हामी यतिबेला खुसीले स्तब्ध पनि भएका छौं’ नर्वेली पुरस्कार समितिले उनको नाम घोषणा गरेको समाचार सुनेपछि भावुक हुँदै उनले भनेकी छिन् ‘म यो पुरस्कार भेनेजुएलाका पीडित नागरिक अनि हाम्रा मुद्दालाई निर्णायक समर्थन गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि समर्पित गर्दछु।’

सामाजिक सञ्जालमा मचाडोले लेखेको यो सन्देशलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि ‘रिपोस्ट’ गरेको छ।

त्यसअघि ह्वाइटहाउसमै बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पुरस्कारका लागि मचाडोलाई बधाई दिँदै आफूले कहिल्यै त्यो पुरस्कारको दाबी नगरेको बताएका थिए। मचाडो आफैले पनि ट्रम्पलाई फोन गरेर त्यसका हकदार ट्रम्प नै भएको बताएकी थिइन्।

‘जसलाई यसपालि यो पुरस्कार प्राप्त भएको छ, उनले नै मलाई फोन गरेर भनेकी छिन् कि यो पुरस्कार मैले तपाईंको सम्मानका लागि स्विकार गरिरहेको छ। साँच्चिकै भन्नुपर्दा यो पुरस्कारको हकदार तपाईं नै हुनुहुन्छ’ ट्रम्पले भनेका छन् ‘मलाई यो पुरस्कार देऊ भनेर मैले कहिल्यै भनेको छैन। मलाई लाग्छ कि उनीहरूले त्यस्तो गरे होलान्…। म उनलाई (मचाडो)लाई हर प्रकारको सहयोग गर्दै आएको छु र गरिरहनेछु। म यसै पनि खुसी नै छु किनकि मैले लाखौं मानिसको ज्यान बचाएको छु।’

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको दाबी निकै नै थियो। उनी आफैले पनि त्यसको हकदार भएको बताउँदै आएका थिए। र दोस्रो कार्यकाल सम्हाले लगत्तै उनी विश्वमा चलिरहेका विभिन्न युद्धहरू रोक्नका लागि केन्द्रित भएका थिए। नोबेल पुरस्कार घोषणा हुनुभन्दा केही दिनअघि मात्रै उनले दुई वर्षदेखि चल्दै आएको इजरायल-हमासबीच युद्धबिराम गराइदिएका थिए।

राष्ट्रपति ट्रम्पलाई नोबेल पुरस्कारका लागि रुस, पाकिस्तानलगायत कतिपय देशहरूले नोमिनेसनका लागि सिफारिस पनि गरेका थिए। तर उनले यो पुरस्कार भने पाएनन्। यद्यपि ह्वाइट हाउसले भने पुरस्कार समितिले पुरस्कारका लागि ‘शान्तिलाई’ नभइ ‘राजनीति’लाई छानेको प्रतिक्रिया दिएको छ। तर व्यक्तिगतरुपमा ट्रम्पले त्यसको आलोचना गरेका छैनन्। यसअघि कार्यकाल सम्हालेको नौ महिनामै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएका थिए।

यसपालि नोबेल पुरस्कार पाएकी मचोडा प्रजातन्त्रका लागि भेनेएजुलामा संघर्ष गर्दै आएकी एक सशक्त नेता हुन्। भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोको ‘निरंकुश शासन’ छ। नेतृ मचोडा उनको शासनविरुद्ध लामो समयदेखि लड्दै आएकी छिन्। मदुरो प्रशासनले उनलाई पटक पटक जेल सजाय दिइसकेको छ। ट्रम्पले मचोडाको संघर्षलाई लामो समयदेखि समर्थन गर्दै आएका छन्। मदुरो प्रशासनका कारण मचोडा अहिले ‘अर्धभूमिगत’ छिन्। उनि हत्तपत्त सार्वजनिक कार्यक्रममा पनि देखिन छोडेकी छिन्। ५८ वर्षीय मचाडो नोबेल शान्ति पुरस्कार पाउने बिसौं महिला हुन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!