सोमबार, ०८ सेप्टेम्बर २०२५

कलिलो पुस्तामाथि सरकारले गरेको ‘नरसंहार’- गृहमन्त्री बेखबर,  प्रधानमन्त्रीलाई मतलबै थिएन

News Image
• • •

सरकारलाई थाहा थियो, सोमबार देशभरिका सहरमा ‘जेन-जी’ पुस्ता ओर्लिदैंछन्। यो कस्तो पुस्ता हो, प्रधानमन्त्री अनि गृहमन्त्रीहरूलाई राम्रोसँग थाहा छ।

यी नेताहरूकै छोराछोरीको ‘विलासी जीवन’लाई सामाजिक सञ्जालमार्फत आलोचनाको बिम्ब बनाइरहेका यी पुस्तामाथि सत्ता सञ्चालकले भने कुत्सित नजर राखे।

इन्टरनेटको ‘भर्चुअल’ दुनियामा रमाइरहेको यो पुस्ता किन सडकमा निस्कियो? जवाफ प्रस्ट छ ‘फस्र्ट्रेसन’। निराशा, राज्यले दिनुपर्ने अधिकार अनि सेवा र सुविधाको असमान वितरण। त्यही खाडलमा निराश एउटा कलिलो पुस्ता।

‘जेन-जी’ सडकमा आउनेगरी देशभरि सार्वजनिक अभियान चलाउँदै गर्दा प्रधानमन्त्रीले भने त्यसमा कुनै ‘दुरुपयोग’को गन्ध देखिरहेका थिए।

‘कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्। तर जेनजी पुस्ता देशलाई माया गर्छ। देशको कानुन बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो’ उनले एमालेको महाधिवेशनको दोस्रो दिनमा भनेका थिए।

स्पष्ट थियो। प्रधानमन्त्रीले आफैले पनि यो पुस्ताको आह्वानलाई ‘हल्का’रुपमा लिइरहेका थिए।

भनेजस्तै सोमबार बिहानैदेखि देशभरका सडकभरि जेनजी पुस्ता निस्कियो। अरु सहरहरूमा जस्तै काठमाडौंमा पनि आन्दोलनको सुरुवात शान्त थियो। जब जब आन्दोलन अघि बढ्दै गयो उनी उत्तेजना र अराजकता पनि बढ्न थाल्यो।

यसपालि न प्रहरीले कुनै पूर्वसूचना थियो, न चेतावनीका आवाज। बरु संसद भवनको गेट हल्लाउन थालेका कलिला बालबालिकामाथि भटाभट गोली हान्न थाल्यो।

त्यो बेलासम्म गृहमन्त्री रमेश लेखक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सञ्जाल’ बन्द भएकोबारे छलफल गरिरहेका थिए।

प्रदर्शनको अघिल्लो दिनसम्म पनि गृहमन्त्रीले कुनै गम्भिर छलफल गरेका थिएनन्। ‘एउटा अनौपचारिक’ छलफलपछि प्रहरी प्रमुखले भनेका थिए ‘परिस्थिति हेरेर प्रहरीले रणनीति तय गर्छ।’

तर सोमबारको प्रदर्शनमा परिस्थिति त्यस्तो थिएनसम्म पनि भइसकेको थिएन कि ‘प्रहरीले सिधै भटाभट गोली हानेर बीसौं कलिला ज्यान लिनुपर्ने…।’

संसद भवनमा तोडफोड हुनथालेपछि एकातिर प्रहरीले भटाभट गोली हान्न थालेको थियो। अर्को तिर प्रशासनले कर्फ्यू आदेश पनि जारी गरिरहेको थियो। काठमाडौंमात्रै होइन देशका प्रमुख सहरहरुमा पनि त्यस्तै तनावपूर्ण स्थिति आयो।

रुपन्देही, पोखरा, चितवन, इटहरि, झापालगायतका स्थानमा पनि तोडफोड अनि आगजनी भएका छन्। पोखरामा पनि आधा दर्जन घाइते भएका छन्।

काठमाडौंमा प्रहरीले धमाधम गोली हानेर कम्तीमा २० जनाभन्दा बढी कलिला किशोर मारेको छ। १०० भन्दा धेरै घाइते छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!