बुधबार, ०३ सेप्टेम्बर २०२५

भीषण वर्षापछि कर्णाली राजमार्ग पुनः अवरुद्ध, यात्रुलाई सतर्क रहन आग्रह

News Image
• • •

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा भदौ १४ गतेदेखि अवरुद्ध भएको सडक तीन दिनपछि भदौ १७ गते दिउँसो १२ बजेतिर सञ्चालनमा आएको थियो। तर, आजै साँझ साढे ५ बजेपछि परेको भीषण वर्षाका कारण पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार अविरल वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। सम्भवतः भदौ १८ गतेसम्म मात्र सडक सुचारु हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सवारी साधनहरू बाटोमै रोकिएका छन्। कर्णाली राजमार्ग प्रदेश राजधानी सुर्खेतसँग जुम्ला, मुगु, हुम्ला र कालिकोटलाई जोड्ने जोड्ने मुख्य मार्ग भएकाले सडक बन्द हुँदा आवश्यक सामग्री ढुवानीमा समेत असर परेको छ।

प्रशासनले यात्रुहरूलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। ‘बर्सातको मौसम भएकाले पहिरो र बाढीको जोखिम उच्च हुन्छ। त्यसैले रात्रि समयमा अनावश्यक यात्रा नगर्न र अपरिहार्य अवस्थामा मात्र यात्रामा निस्कनु अनुरोध गर्दछौं,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

स्थानीयवासीले निरन्तरको वर्षा र पहिरोको कारण गगने खोलाको क्षेत्रमा बारम्बार सडक अबरुद्ध हुने समस्या देखिएको बताउँदै दीर्घकालीन समाधानका लागि स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!