बिएल संवाददाता
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,'हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।'
चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे। पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।
'शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ। हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ', उनले भने। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन र नेपालबिचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। उनले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताए।
चिनियाँ राजदूतले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरे। दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए।
समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी थियो। साथै जनमुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
यसैबिच, चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधैँ उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया