बिएल संवाददाता
धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ।
भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरुको पहलमा अस्थायी ’पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो।
बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने ४ वटा पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो। त्यसले गर्दा एम्बुलेन्सले समेत वैकल्पिक र लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन्।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा मलेखुमा पन्टुन ब्रिज ल्याएर जडान गर्ने प्रयास अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिए।
अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडानको सम्भावना र आवश्यक प्राविधिक पक्षबारे स्थलगत निरीक्षण भएको छ।
सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पन्टुन ब्रिज जडानको काम सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्मका लागि तिहार अघिनै यातायात सहज रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष दनैले बताए।
के हो पन्टुन ब्रिज?
पन्टुन ब्रिज भनेको पानीमा तैरिने अस्थायी वा स्थायी पुल हो, जसलाई नेपालीमा ‘तैरिने पुल’ भनिन्छ। यो साधारण पुल जस्तो खोलाको पिँधमा पिलर आवश्यक पर्दैन। पानीमा तैरिने वस्तुहरूको आधारमा बनाइएको हुन्छ।
प्राबिधिकहरुका अनुसार यो कम खर्चमा र छिट्टै जडान गर्न सकिन्छ। आवश्यक नपरेको खण्डमा यसलाई सजिलै फुकालेर अर्को ठाउँमा लैजान सकिन्छ। नदीमा पानीको बहाव धेरै ठूलो आएमा वा बाढी आएमा यो पुल सुरक्षित हुँदैन।
यता संघीय सरकारले पनि मलेखुको फुर्केखोलामा पुलको स्थायी समाधानका लागि सिग्नेचर ब्रिज निर्माण गर्ने र त्यसको लागि बोलपत्र आव्हान गर्ने तयारी गरेको धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
त्रिशूली नदी वारपार गर्ने घाटबेसीको पक्की पुल र अन्य पाँच वटा सडक स्तरोन्नतिको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र कार्यप्रकृया अघि बढाउने जानकारी दिएका छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया