बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’को हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ।
पार्टीको आन्तरिक वैचारिक, राजनीतिक तथा संगठनसम्बन्धी विषयमा बहस र छलफल भइरहेको अवस्थामा केही कमरेडहरूले त्यसलाई विचारको बहसबाट विषयान्तर गर्दै तोडमोड गर्ने तथा पार्टीलाई विभाजित गर्ने गतिविधि गरेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा पार्टीले विगतदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक, राजनीतिक, आर्थिक र संगठनात्मक समस्याको अध्ययन तथा बहस गर्दै आएको जनाउँदै त्यसैको निष्कर्षका आधारमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेको उल्लेख गरिएको छ।
पार्टीले अहिलेको विवादलाई वैचारिक बहसका रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।
वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टीभित्रको एकता अनिवार्य रहेको भन्दै तर्कपूर्ण र तथ्यमा आधारित बहसबाट निष्कर्षमा पुग्नुपर्ने उसको भनाइ छ।
यसअघि प्राकृतिक विपत्तिका कारण पार्टीले राष्ट्रिय सम्मेलनसमेत स्थगित गरेको थियो।
रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा परिचालन गरिएको पार्टीले जनाएको थियो।
पार्टीले विपद्को समयमा समेत केही व्यक्तिले पार्टीको निर्णय, विधान र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाएको छ।
वक्तव्यमा नेतृत्वविरुद्ध कपोलकल्पित र अवाञ्छित गालीगलौज गर्ने, गलत अर्थ लाग्ने गरी प्रचारबाजी गर्ने तथा पार्टीको निर्णयविपरीत गतिविधि गर्ने प्रयास भएको उल्लेख छ।
यस्ता गतिविधिले पार्टीभित्र भ्रम र विभाजन सिर्जना गर्न सक्ने भन्दै नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले पार्टी पंक्ति र आम जनतालाई त्यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ।
पार्टीले राष्ट्रिय सम्मेलनका लागि अघि सारिएका विषयमा गम्भीर वैचारिक बहस, अध्ययन तथा अनुसन्धानमा सहभागी हुन पनि नेता–कार्यकर्तालाई आह्वान गरेको छ।
पार्टीभित्रको वैचारिक बहसलाई तार्किक निष्कर्षमा पुर्याउँदै क्रान्तिकारी आन्दोलनलाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा वक्तव्यले जोड दिएको छ।
यसैबीच, नेकपा (बहुमत) ले यसअघि तयारी नपुगेको भन्दै राष्ट्रिय सम्मेलन असोज ५ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो।
तर पछिल्लो बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गरिएको र नयाँ मिति केन्द्रीय समितिको बैठकबाट तय गरिने जनाएको छ।
‘सबै पार्टी सदस्यहरू एकताबद्ध होऔँ’ भन्ने आह्वानसहित जारी वक्तव्यमा पार्टीको वैचारिक तथा संगठनात्मक एकता कायम राख्दै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न सबै कमरेडलाई आग्रह गरिएको छ।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया