शुक्रबार, २८ अगस्ट २०२६

नेकपा (बहुमत) बाट अध्यक्ष मण्डलका सदस्य ‘प्रवीर’ निष्कासित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।

पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष धर्मेन्द्र बाँस्तोला कञ्चनको अध्यक्षतामा छलफल भइरहेका बेला गुणराजले अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको आरोप लगाइएको छ। 

यस्तो व्यवहारले पार्टीको अध्यक्ष मण्डलका सदस्यको हैसियत, मर्यादा र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा गुणराजले यसअघि पनि पार्टी अध्यक्ष र केही सदस्यविरुद्ध पटक–पटक अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने, हुलहुज्जत र गुटबन्दी गर्ने गरेको आरोप लगाइएको छ। 

यस्ता गतिविधिबाट पार्टीलाई कमजोर बनाउने, अनुशासनहीनता बढाउने, आन्तरिक विवाद र विभाजन निम्त्याउने प्रयास हुँदै आएको दाबी पार्टीको छ।

पार्टीले उनलाई यसअघि पटक–पटक सम्झाउने, बुझाउने, चेतावनी दिने, आत्मालोचना गर्न लगाउने तथा निलम्बनसम्मका कारबाही गरेर व्यवहार सुधार्ने प्रयास गरेको जनाएको छ। 

तर, ती प्रयास प्रभावकारी नभएको र पछिल्लो बैठकमा समेत गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै लिखित आत्मालोचनाका लागि भनिएकोमा उनले त्यसलाई समेत अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका अनुसार पटक–पटकको सम्झाइबुझाइ र कारबाहीपछि पनि आफ्नो व्यवहार नसुधारेपछि गुनराजलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो।लोहनी लाई यस भन्दा अगाडि विप्लवले पनि आर्थिक हिनामिना गरेको र भारतीय जासुसी संस्था 'र' को तलब भत्ता लिने कर्मचारी भए पछि पार्टी हेडक्वाटरबाट हटाएका थिए। 

पार्टीले यो निर्णय अनुशासन, मर्यादा र संगठनात्मक जिम्मेवारी कायम राख्न आवश्यक भएको जनाएको छ।

पार्टी अध्यक्ष मण्डलका सदस्य गुणराज ‘लोहनी प्रवीर’लाई कारबाहीसम्बन्धी विज्ञप्ति कञ्चनका अध्यक्षको नामबाट भदौ १२ मा जारी गरिएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!