सोमबार, १३ जुलाई २०२६

विभिन्न मिडिया कार्यालयअगाडि शंकास्पद गाडी पार्किङ, सुरक्षा खतरा छैनः प्रहरी

News Image
• • •

काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको छ।

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो। त्यस्तै अनामनगर भाटभटेनी अगाडिको मूल सडकमै बेवारिसे सवारी पार्किङ गरेर ट्राफिक आवागमनमा अवरोध पुर्‍याइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले सम्बन्धित कार्यालयमा पुगेर गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने बताएका छन्। प्रवक्ता भट्टराईले शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको जानकारी दिएका छन्।

पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए। 

उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो। जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानातर्फ पठाइएको छ।

उनले भने,‘हामीले दुई किसिमले हेरेका थियौं। गाडीमा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री छ कि छैन भनेर जाँच गर्‍यौँ। तर त्यस्तो कुनै सुरक्षा खतरा देखिएन।’

उनले सार्वजनिक आवागमनमा अवरोध हुने गरी अनधिकृत रूपमा पार्किङ गरिएका कारण गाडी हटाएर ट्राफिक प्रहरी कार्यालय पठाइएको बताए।

अनलाइनखबर, हिमालय टेलिभिजन अगाडिको गाडि पनि बग्गीखाना लैजाने तयारीमा रहेको उनले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!