आइतबार, २८ डिसेम्बर २०२६

मदनराज ताम्राकारद्वारा लिखित 'अतीतको झझल्को' सार्वजनिक

News Image
• • •

मदनराज ताम्राकारद्वारा लिखित 'अतीतको झझल्को' सार्वजनिक गरिएको छ।

आज शनिबार ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रममा मदनराज ताम्राकारद्वारा लिखित 'अतितको झझल्को' पुस्तक साहित्यकार  प्राज्ञ डाक्टर तुलसीप्रसाद भट्टराईले सार्वजनिक गरेका हुन्।

ताम्राकारद्वारा लिखित पुस्तकमा  उनका जीवनका अनुभूति तथा देशविदेशका विभिन्न स्थानमा भ्रमण अवलोकन गरी त्यस्ता भ्रमणका अनुभवहरूलाई शब्दमा रूपान्तरित रचनाहरूका साथै संस्मरणात्मक लेखहरूलाई समेटिएको छ।

पुस्तकमा कतिपय आत्मकथ्यपरक रचना पनि जोडिएका छन्। यस सङ्ग्रहभित्र मदनराज ताम्राकारको आफ्नै जीवनसँग घटेका घटना र सन्दर्भहरू संयोजन गरेर समेटिएको छ। 

नेपाल बैङ्क हुँदैपछि एभरेष्ट बैङ्कका जागिरे जीवन व्यतीत गर्नुभएका मदनराजले आफ्नो जागिरे जीवनमा पाएको अवसर, विभिन्न खालको भ्रमण र बसाईको सन्दर्भका घटना र संस्मरणको समीकरणका रूपमा केही निबन्धहरू पुस्तकभित्र समेटिएको छ। 

'उषाकाल' निबन्धभित्र लेखकले आफ्नो बाल्यकाल पितापुर्खाका प्रसङ्गहरूसँगै ठूलो घरपरिवारभित्रका पारिवारिक मर्यादा, मान-सम्मान, मनमुटाव, खानपानका प्रसङ्गहरू जोडेर त्यतिबेलाको एउटा मध्यम वर्गीय परिवारबारे राम्रो चित्र उतारेका थिए। 

मीठो मसिनो, मासु वा विशेष परिकार खान, राम्रा कपडा लगाउन दशैं, बिहे वा कुनै चाडपर्व कुर्नुपर्ने, कहिले यो दिन आउला भनेर आशा गर्नुपर्ने त्यतिबेलाको बालमनोविज्ञान पुस्तकमा ज्यादै राम्ररी वर्णन गरिएको छ। 

यसभित्रको एउटा घटना ज्यादै मार्मिक छ डेढ दुई वर्षे बहिनी निर्मला घरको माथिल्लो तलाको झ्यालबाट तलखसेको देख्ने चारवर्षे दाजु अर्थात् यस कृतिका आजका स्रष्टाले आमालाई बहिनी खसेको कुरा सहज ढङ्गबाट सुनाएको र आमाले आत्तिदै कराउँदै बुवाछेउमा बेहोस बहिनी पुऱ्याउनेबित्तिकै सामान्य घरेलु भोटो कट्टुमा बसेका बुवाले बहिनी निर्मलालाई बोकेर नारायण भवन लगेको प्रसङ्ग अत्यन्तै रोचक छ। 

बहिनीलाई अस्पतालबार घर ल्याएपछि उसले आमा-बुवाबाट माया र राम्रा खानेकुरा पाएको देखेर चारवर्षे बालकले पनि बिरामी परेपछि माया र राम्रो खानेकुरा पाइने रहेछ भन्ने बुझेर घरको बुइँगलमा पुगेको अनि फाल हान्ने मनस्थिति बनाएको प्रसङ्ग ज्यादै घतलाग्दो छ। 

बाल-मनोविज्ञानभित्र के-कस्तो प्रभाव पर्छ भन्ने कुराको उदाहरण हो यो। 

दोस्रो निबन्ध 'बादल पछाडिको तारा' भित्र आफ्नी फुपू रूपकेशरी त्यसबेला अस्पतालकी नर्स काम गर्ने सहकर्मी बङ्गाली युवासँग प्रेम गरेर भागी बिहे गरेको, करीब सात दशक अघिको घरपरिवारमा त्यो बिषयले निकै ठूलो खलबली मच्चिएको बिषयहरु समावेश छ। 

कलेजको विद्यार्थी बेलामा कलकत्ता जाने अवसर पाएका मदनराजले त्यहाँ फुपूको घरमा पुगेर राम्रो स्नेह, सद्भाव पाएको र घरमा यो समाचार हजुरआमा, बा-आमालाई सुनाएको रोचकता छ। 

पित्तलको भाँडा बनाउने पुख्र्यौली पेसा र आफ्ना बुवा त्यसैमा दिनरात खटेको प्रसङ्ग र पछि होटेल व्यवसायमा लागेको र घाटा खाएर छोडेको जस्ता अन्य धेरैवटा उतार-चढावले भरिएको छ- 'जिन्दगीका तरङ्गहरू' शीर्षकको विषयवस्तु। 

'समर्पण' र 'बालबाल बचें' निबन्धमा पनि आफ्नै विभिन्न अतीतका तरङ्गहरू चित्रित छन्। 

छोराछोरीको पढाइ, आफ्नो बैङ्कको जागिर र त्यसबेलाका अनेकौँ समस्याहरूबारे सङ्केतात्मक रूपमा चर्चा छ। 

'बालबाल बचें' निबन्धमा आफ्नो अस्ट्रेलिया यात्रा र नेपालको भूकम्पीय प्रलयबारे चर्चा छ। आफू बडो मुस्किलले एउटा नराम्रो दुर्घटनाबाट बचेको प्रसङ्ग छ। 'सिमरा एक सम्झना' मा जागिरका क्रममा सिमरा गएको र त्यहाँका घटनावलीबारे माओवादी द्वन्द्वका पीडासँग सम्बन्धित संस्मरणात्मक चित्रण छ।'

अविस्मरणीय जङ्गल यात्रा' यो अर्को छुट्टै प्रसङ्गको यात्रा निबन्ध हो।

सर्जिकलबाट मेडिकल र मृगौला प्रत्यारोपण दुवै निबन्धले बिरामी प्रसङ्ग, अस्पताल, डा. रोग आदिबारे निकै राम्रो चित्रण छ। 

आमाको मृगौला प्रत्यारोपण चेन्नईमा गरिएको तर असफल भएको अर्थात् आमाको देहावसानसम्बन्धी निकै कारुणिक स्थिति वर्णित छ।

'भूलभुलैया' भित्र अस्ट्रेलिया यात्राका सन्दर्भमा क्वालालम्पुर टर्मिनलमा एक घण्टाभन्दा बढी श्रीमतीसँगको बिछोडको रमाइलो चर्चा छ। त्यस्तै चारधाम तीर्थयात्राका क्रममा पिताजी हराएको घटना र पछि भेटेपछिको खुशी। 

चेन्नई सेन्ट्रलमा श्रीमती हराएर पछि भेटिएको जस्तो घटनावलीले निबन्ध ज्यादै गहन बनेको छ।

'चट्ट विश्वास, पछुतोको आधार र अनौठो सहयोग' दुवै आत्मपरक लाग्ने निबन्ध हुन्। निकै राम्रा छन्। स्कूले विद्यार्थी छँदा राजा महेन्द्रको जन्मोत्सवका दिन टुंडिखेलमा हुने मार्चपासमा आफू पढ्ने स्कूल त्रि-पद्म विद्याश्रमका तर्फबाट सहभागी भएका बेला सेन्ट जेभियर्स स्कूलका विद्यार्थीहरूको तामझाम राम्रो पहिरन, टिलिक्क टल्किने काला जुत्ता, टाई, ड्रम बाजासँगको मार्चपास यता आफ्नो स्कूलका विद्यार्थी कतिपय खुट्टामा चप्पल पनि नभएका, भुत्रे-झाम्रे पहिरन, निन्याउरा परैबाट अभाव झल्किने विद्यार्थीहरू देख्दा आफूलाई हीनताबोध, ग्लानि भएको कुरा किशोर मनमा परेको, तर पनि आफू कसरी घरमा काम सघाएर पढ्न सफल भइयो भन्ने कुरालाई लेखकले भारतीय संविधान निर्माता डा. अम्बेडकर जो एउटा दलित अपहेलित परिवारबाट उठेर विश्वप्रसिद्ध बन्न सफल भए, गरिब परिवारका अब्राहम लिङ्कन अमेरिकाका राष्ट्रपति बन्न सफल भए, यस्ता कतिपय कुराहरू आफूले मन शान्त पार्दै पढाइमा अगाडि बढेको रोचक प्रसङ्गका सन्दर्भहरू स्रष्टाले जोडेका छन्। 

पुस्तक सार्वजनिक कार्यक्रममा मन्तव्य राख्नुहुँदै बरिष्ठ साहित्यकार प्राज्ञ डाक्टर तुलसीप्रसाद भट्टराईले लेखक मदनराज ताम्राकारले अवकाशपछिको जीवनलाई सार्थक बनाउने प्रयास मदनराज ताम्राकारले गर्नुभएको भन्दै समाजका लागि जीवनका अनुभवहरु दस्तावेजिकरण गरिएको बताए। 

'जीवन भनेको संघर्ष नै संघर्षको समूह हो, यो पुस्तक परिवारका लागि मात्रै नभै, ताम्राकार समाज र सिङ्गै नेपाली समाजकै निधि हुने खालको छ', उनले बताए। 

उनले मानिस उमेरले भन्दा पनि बिचार र सोचले बूढो हुने भन्दै मानिसको बिचार सधैं युवा अवस्थाको हुनुपर्छ भन्दै मदनराज ताम्राकारको पुस्तक लेखनशैलीले युवा जोसको चित्रण गरेको बताए।

वाल्मीकि क्याम्पसका उपप्राध्यापक एवम् समालोचक तेजविलास अधिकारीले यो आत्मकथाको ग्रन्थले इतिहास र साहित्यको माध्यमबाट समाजलाई प्रेरणा दिने बताए। 

नेपाल पुजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतमले समाज, जीवन र यथार्थतालाई पुस्तकमा प्रस्तुत गरिएको बताए।

जीवनको अनुभव, सफलता र संघर्षलाईलाई पुस्तकमा चित्रण गरिएको बताए। उनले नेपाली साहित्यमा संस्मरण साहित्यको पनि छुट्टै महत्त्व रहेको बताए।

लेखकका सुपुत्र एवम् पुस्तकका प्रकाशक किर्तनराज ताम्राकारले पुस्तक साहित्यिक किर्ति मात्रै नभएर आफ्नो पिताको जीवनको संघर्ष, अनुभव र प्रेरणालाई पनि प्रतिविम्बित गरेको बताए। 

प्राध्यापक डाक्टर कुमार कोइरालाले अतितका झझल्को पुस्तक कर्ममा विश्वास गर्ने ताम्राकार परिवारको कथा भएको बताए।

पुस्तकमा १४ वटा शीर्षकहरुमा जीवनका अतितका बिषयबस्तुहरुसंग सम्बन्धित कथाहरु प्रस्तुत गरिएका छन् भन्दै उनले पुस्तकमा नेपाली सामाजिक परिवेशका बिषयबस्तुहरु समेटिएका छन् भने। 

उनले पछिल्लो समय नेपालमा सानातिना व्यक्तित्वहरुको पनि जीवनी लेख्न थालिएको बताउँदै यी पुस्तकहरुबाट प्रेरणादायी कुरा र समाजका लागि आदर्श प्राप्त हुने बताए। 

कार्यक्रमका सभापती एवं ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेख्ने चुनौतीपूर्ण काम भएको भन्दै ताम्राकार समाजको व्यक्तित्वले ज्यादै महत्त्वपूर्ण र गहकिलो पुस्तक तयार भएको बताए। 

उनले ताम्राकार समाजका धेरै कम मानिसले मात्रै नेपाली भाषामा पुस्तकहरु लेखेको जानकारी गराए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!