काठमाडौं : एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केबल टीभीको तार। भार थेग्न नसकेर पोल नै ढल्ने अवस्था। र, ढलेका पनि धेरै छन्। लठिभद्र ती तारले सहरको सौन्दर्य बिगार्नुका साथै विभिन्न दुर्घटनासमेत निम्तिने नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण प्रमुख बाबुराम सुवेदीले बताए।
इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले आफूखुसी पोलमा तार झुन्ड्याउँदै आएका छन्। ‘काम नलाग्ने तार व्यवस्थापन मात्रै गर्ने हो भने पनि पोलको भार कम हुने थियो’, उनले भने, ‘त्यसतर्फ कुनै निकायको ध्यान पुगेको छैन।’ काम लाग्ने र नलाग्ने तारको गुजुल्टा एउटै हुँदा समस्या आएको उनी बताउँछन्। काम नलाग्ने तार इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले व्यवस्थापन नगर्दा कुरुप देखिएको सुवेदीको भनाइ छ।