महराको डीएनए परीक्षण हुने

बिएल

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुखको कृष्ण बहादुर महराको डीएनए परीक्षण हुने भएको छ ।

घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्टि गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको सोल लगायतका सामग्री महराको हो होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो ।

संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा ती सबुत देखाइएको थियो । आफू सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले सीसी टीभी फुटेजको विश्लेषणबाट पुष्टि गरिसकेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार महराको गाडी १२ असोजमा साँझ ७ बजेतिर महिलाको घर छेऊ रोकिएको देखिन्छ । यद्यपि, सीसी टीभी फुटेज स्पष्ट भने छैन ।

त्यहाँबाट पानै ९ बजे महरा सवार गाडी फर्किएको देखिन्छ । त्यसबीचको दुई घन्टाको अवधिमा महिला र महरा मात्रै कोठाभित्र रहेको प्रहरीको भनाइ छ । महरासँगै गएका अंगरक्षकले पनि उनी घटनास्थलमा पुगेको अनौपचारिक बयान दिइसकेका छन् ।

सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले असोज १९ गते आइतबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखलाई सरकारी निवासबाटै पक्राउ गरकोे थियो ।

प्रकाशित मिति: : 2019-10-15 11:46:42

प्रतिकृया दिनुहोस्