मुटुरोगले युवालाई पनि पिरोल्दै

गोरखापत्र

काठमाडौँ, असोज १३ गते । एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उहाँलाई हृदयाघात के हो भन्ने थाहै थिएन । अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो । यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि दुई वर्षपहिले हृदयाघातका कारण शल्यक्रिया गर्नु परेको थियो । उहाँ पनि समयसमयमा चिकित्सकको फलोअपमा हुनुहुन्छ ।
युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन् । मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले अव्यवस्थित जीवनशैलीका कारण युवापुस्ता मुटुरोगको चपेटामा परेको बताउनुभयो । डा. अनिलको नेतृत्वमा केही वर्ष पहिले स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले संयुक्त रूपमा गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको थियो ।

प्रकाशित मिति: : 2019-09-30 06:38:43

प्रतिकृया दिनुहोस्