नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् । उनी विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।

५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत प्राप्त गरे ।

१७ सदस्यीय नयाँ कार्यसमितीका लागि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ विजयी हुँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित हुँदा उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए भने उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए । प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वाचित भए ।
प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भए । हालै मात्र समावेश गरिएको महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन् । खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५), संजय राज सिंह (३४) र करन महोत्रा क्षेत्री (३०) ले मत प्राप्त गर्दै निर्वाचित भए ।

निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए ।

नेपाली क्रिकेटमा लामो समय नेतृत्वमा रहेका पाण्डे सन् २०११ यता नेपाली क्रिकेटको प्रशासनीक निकाय क्यानमा थिएनन्। चन्द चार वर्षअघि क्यानको अध्यक्षमा चुनिए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको थिएन।

खेलकुद परिदषद्ले चन्दलाई मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा अर्कै समिति बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो।

झन्डै साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन रहेको क्यानले शनिबार नयाँ नेतृत्व पाएको हो।विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास लिइएको छ।

 

प्रकाशित मिति: : 2019-09-28 15:37:19

प्रतिकृया दिनुहोस्