नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागेको जानकारी दिदै सबैलाई चुल्हेनिम्तो दिएका छन् । उनले यो चुल्हेनिम्तो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)को ४०औं महासभालाई सम्बोधन गर्ने क्रममा दिएका हुन् ।
उनले नेपालको विकट भौगोलिक अवस्थालाई समेत मध्यनजर राख्दै नेपालको हवाई सुरक्षाका लागि चासो र चिन्ता देखाएकोमा इकाओलाई धन्यवाद ज्ञापन गर्दै सन् १९४४ को शिकागो कन्भेन्सनका हवाई सुरक्षासम्बन्धी प्रावधानलाई पालना गर्न नेपाल सदैव प्रतिवद्ध रहेको बताए ।
उनले यही क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनामा फेरबदल ल्याइएको र हवाइ दुर्घटनालाई कम गर्न पर्याप्त गृहकार्ग गर्दै सावधानीका उपायहरू अपनाइएको पनि बताए । उनले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक एजेण्डामा काम गरिरहेको बताउँदै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाका साथ काम गरिरहेको पनि बताए ।
वुद्धको जन्मभूमि र सगरमाथाको देश नेपालमा अपार पर्यटनको सम्भावना रहेको बताउँदै मन्त्री भट्टराईले खुला आकाश नीति अपनाइएको नेपालको पर्यटन उद्योगमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरे ।
यो पनि हेर्नु होला
इन्द्रजात्रा
सम्बोधनका क्रममा उनले इकाओले सन् २०१८ का लागि नेपाललाई काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेट प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेपालप्रति थप उदारताको खाँचो रहेको पनि बताए ।
इकाओको केन्द्रीय कार्यालय रहेको क्यानडाको मन्ट्रियलमा जारी महासभालाई उनले स्थानीय समयअनुसार बुधबार अपरान्ह चार बजे सम्बोधन गरेका थिए ।
महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह मन्ट्रियल आइपुगेका हुन् । उनको साथमा मन्त्रालयका सह–सचिव शुरेस आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायतको प्रतिनिधि मण्डल सहभागी रहेको छ । प्रतिनिधि मण्डलमा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना पनि सहभागी छन ।
महासभामा सहभागी हुने क्रममा संयुक्त अरब इमिरेट्स (युएई)सँग हवाई सम्झौता हुनेछ भने अष्ट्रेलियासँग हवाई वार्ता हुने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ) को ४०औं महासभा यसको केन्द्रीय कार्यालय रहेको क्यानडाको मन्ट्रियलमा सेप्टेम्बर २१ देखि अक्टोबर ४ सम्म आयोजना गरिएको छ । महासभामा नेपाललगायत १९३ देशको सरकारी र एक हजारभन्दा बढी गैरसरकारी संघ-संस्थाका प्रतिनिधिको सहभागी रहेको छ ।