प्रियंकाले भनिन्– मोदीभन्दा अमिताभ बच्चन प्रधानमन्त्रीको उपयुक्त पात्र

Photo: Agency

भारतको लोकसभाको सातौं तथा अन्तिम चरणको निर्वाचन आउन केही दिन बाकी रहेको अवस्थामा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) र विपक्षी दलबीच आरोप–प्रत्यारोपको शृंखला झन तीब्र बन्न थालेको छ।

विपक्षी कांग्रेस महासचिव प्रियंका गान्धीले शुक्रबार उत्तर प्रदेश (यूपी) को मिर्जापुरमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध बोल्ने क्रममा बलिउडका महानायक अमिताभ बच्चनलाई पनि चुनावी हत्कण्डाको रुपमा प्रयोग गरेकी छिन्।

दुई साताअघि प्रधानमन्त्री मोदीले प्रियंकाका बुवा तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई भारतीय राजनीतिको चर्चित काण्ड बोफोर्स खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउदै आफ्नो बुवाको नाममा चुनाव लड्न चुनौती दिएका थिए।

प्रिंयंकाका भाई राहुल गान्धी कांग्रेस पार्टीका अध्यक्ष हुन्। उनी अहिले प्रधानमन्त्री मोदीलाई घेर्न चौकिदार चोरको नारा उर्लिदै आइरहेका छन्।

प्रियंकाले मिर्जापुर सभामा मोदी नेता नभएर अभिनेता भएको आरोप लगाउदै उनको स्थानमा अमिताभ बच्चनलाई प्रधानमन्त्री बनाउन जिकिर गरिन्।

‘मोदी नेता होइनन्, अभिनेता हुन। तपाईहरु सबैले बुझनु पर्ने हो, विश्वको सबैभन्दा ठूलो अभिनेतालाई तपाईले प्रधानमन्त्री बनाउनु भयो। उनी भन्दा राम्रो त अमिताभ बच्चनलाई नै प्रधानमन्त्री बनाएको भए हुन्थ्यो,’ मिर्जापुरमा कांग्रेसी उम्मेदवार ललितेश त्रिपाठीको पक्षमा प्रचार गर्ने क्रममा प्रियंकाले भनिन्।

उनले मोदी फेरि प्रधानमन्त्री नियुक्त भए ५ वर्षसम्म सिनेमा हेर्नु नपर्ने दावी गरिन्।

प्रकाशित मिति: : 2019-05-17 18:07:12

प्रतिकृया दिनुहोस्