जासुसीको आरोपमा चीनमा दुई क्यानेडियाली पक्राउ

तस्बिरः एजेन्सी

चीनले जासुसीको आरोपमा दुई क्यानेडियाली नागरिकलाई पक्राउ गरेको छ। पूर्व कुटनीतिज्ञ मिचेल कोभरिक र व्यवसायी मिचेल स्पाभोरलाई चीनले गत महिनादेखि समातेर राखेको क्यानेडियाली पत्रिकाले जनाएको छ।

ग्लोब एन्ड मेलको अनलाइन संस्करणमा बिहिबार प्रकाशित समाचारअनुसार चीनको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा तिक्तता आउन सक्ने बताइएको छ।

यी दुवै क्यानेडियाली नागरिकलाई अज्ञातस्थलमा राखिएको र उनीहरुको विषयमा चिनियाँ अधिकारीहरूले कुनै जानकारी उपलब्ध नगराएको ग्लोब एन्ड मेलले लेखेको छ। उनीहरु कहाँबाट र कुन अपराधमा पक्राउ परेका हुन्, यो विषयमा पनि चिनियाँ पदाधिकारी मौन रहेको बताइएको छ।

चीनको केन्द्रीय राजनीति तथा कानुन हेर्ने विभागले सञ्चालनमा ल्याएको एक अनलाइनले भने कोभरिकले आफ्नो देशको जासुसी गरिरहेको बताएको थियो।

उनी चीनमा इन्टरनेशनल क्राइसिस ग्रुपमा आवद्ध भएर काम गरिरहेका थिए। पक्राउ परेका अर्का व्यवसायी स्पाभोरले भने सामान सप्लाईको काम गर्ने गरेको सोही अनलाइनमा बताइएको छ।

यसअघि अमेरिकाको आग्रहमा क्यानडाले भ्यानकुभरमा हुवाई कम्पनीका प्रमुख वित्तिय अधिकारी मेङ वानझाउलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2019-05-16 17:25:27

प्रतिकृया दिनुहोस्