होलीमा लोला हान्ने २ सय पक्राउ, ट्राफिक नियम मिच्ने ९१८ चालक कारबाहीमा, २ को मृत्यु

तस्बिरः बिएल

होलीमा जबरजस्ती लोला हान्ने तथा रंग छ्याप्ने २ सय  जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं, ललितपुर, र भक्तपुरबाट २ सय जनालाई पक्राउ गरेको महानगरीय आयुक्त कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

होलीका नाममा बाटो हिड्ने बटुवालाई जबरजस्ती लोला हान्ने तथा रंग दल्नेलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको महानगरीय आयुक्त प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानकारी दिए।

सवारी नियम मिच्ने ९१८ सवारी चालक कारबाहीमा

होलीका नाममा जथाभावी सवारी चलाउने तथा मादकपदार्थ सेवन गरी सावरी चलाउने ९ सय १८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार उपत्यका तीन वटै जिल्लामा गरी ९ सय १८ सवारी चालक कारवाहीमा परेका हुन्।

उनका अनुसार त्यसमा १ सय ३५ जना मापसेमा परेका छन्, भने बाँकी अन्य विभिन्न कसुरमा कारवाहीमा परेका छन्।

कारबाहीमा परेकाहरू

  • तीन जना मोटर साइकलमा सवार रही चलाएको सवारी साधान कारबाही संख्या-७१
  • हेल्मेट नलगाई चलाएको सवारी साधान कारवाही संख्या - २६
  • कागजपत्र साथमा नभएको सवारी साधान कारबाही संख्या -३०८
  • मादक पदार्थ सेवन गरी सवारी साधान चलाएको कारबाही संख्या - ६७
  • लापरवाहीका साथ सवारी साधान चलाएको कारवाही संख्या- ६४
  • बिना पास (बिदाको दिनमा) सरकारी सवारी साधान चलाएको कारवाही संख्या -२२
  • बाँकी अन्य

सडक दुर्घटनामा २ जनाको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार होली खेल्न निस्किएका २ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ।

प्रहरीका अनुसार १ जनाको स्वयम्भु र एक जनाको सादोबाटोमा मोटरसाईल दुर्घटना हुँदा मृत्यु भएको हो।

हेल्मेट नलगाएर मादकपदार्थ सेवन गरी मोटरसाईकल चलाएको अवस्थामा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-03-20 19:22:01

प्रतिकृया दिनुहोस्