काठमाडौं । सिंगापुरलाई भारी अन्तरमा हराउँदै नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । यस्तै कन्नुस्वामी सतिशले २४ रन बनाए । चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि ओपनर रित गौतमको सतकमा नेपालले सिंगापुरलाई ३२७ रनको बिशाल लक्ष्य दिएको थियाे।
मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको हो।
नेपालको बिशाल स्कोरमा गौतमले अभिजित ११५ रन बनाए। १३७ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै खडक बहादुर बोहोराले ९० रनको पारी खेले। सतक बनाउन १० रनले चुकेका उनले ९० बल खेल्दै १२ चौका हिर्काए।
दोस्रो विकेटका लागि खडक र रितले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो।
पवन र रितले पहिलो विकेटका लागि यसअघि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
यस्तै अर्का ओपनर पवन सरार्फले ४५ रन बनाउने क्रममा ४१ बल खेल्दै १० चौका प्रहार गरे।
बिशाल बिक्रम केसी १ रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेलले ७ रन जोडे।
यस्तै अन्तिममा आक्रमक ब्याटिङ गरेका कुशल मल्लले २३ बलमा अर्धसतक पुरा गरे। उनले ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अभिजित रहे। कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन बटुलेका थिए ।
सिंगापुरका लागि प्रनव सुदर्शन राजेश किसान र बिनित चितेश मेहताले समान २-२ विकेट लिए।
रितको उत्कृष्ट शतक
ओपनर रित गौतमले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा पहिलो सतक प्रहार गरेका छन्।
सिंगापुरविरूद्ध ओपनिङ गरेका रितले १ सय ३१ बलमा १० चौका सहित शतक पुरा गरे।
४८ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै रितले शतक पुरा गरेका थिए।